नेकपा विवाद नयाँ मोडमा

१ साउन, काठमाडौं । पार्टीको आन्तरिक समस्या सुल्झाउन गत असार १० गतेदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दै आएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक नयाँ मोडमा प्रवेश गरेको छ । पार्टीभित्रको विवाद अब स्थायी कमिटीबाट केन्द्रीय कमिटीमा सर्ने भएको छ ।

विहीबार बेलुका लगभग एकैसाथ प्रधानमन्त्री निवास बालुवाटार र प्रचण्ड निवास खुमलटारमा दुई समूहका बेग्लाबेग्लै बैठकहरु भए । सचिवालय र स्थायी कमिटीका बहुमत सदस्य सम्मिलित खुमलटार बैठकले भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउने निचोड निकालेको छ । बालुवाटार बैठकको रणनीति भने रातिसम्म बाहिर आइसकेको छैन ।

खुमलटार भेलामा सहभागी एक स्थायी कमिटी सदस्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार विहीबार दिउँसो बालुवाटारमा तीन नेतावीच भएको छलफलमा भदौमा केन्द्रीय कमिटीको बैठक बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत भएका छन् ।

असार १० मा सुरु भएको स्थायी कमिटीको बैठक असार तेस्रो सातादेखि बस्न सकेको छैन । दुई अध्यक्षवीच सहमति जुटाउनका लागि भन्दै साउन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो । शुक्रबार बस्ने स्थायी कमिटी बैठकबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न विहीबार दिउँसो कार्यकारी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए ।

बालुवाटारको छलफलमा प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री ओलीलाई समस्या समाधानका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । तपाईकै कारण सरकार र पार्टी दुबै बदनाम भयो भन्दै नेताद्वयले प्रधानमन्त्री पदबाट राजीनामा दिन ओलीलाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने अडान राखेका थिए ।

प्रधानमन्त्री आफ्नै अडानमा कायम रहेपछि केन्द्रीय कमिटीको बैठकमा जाने सहमति भएको नेताहरु बताउँछन् । त्यसलगत्तै माधव नेपाल र प्रचण्ड समूहका नेताहरु बेलुका खुमलटारमा भेला भए ।

सचिवालय र स्थायी कमिटीका बहुमत नेताहरुको सो भेलाले अब केन्द्रीय कमिटीको बैठक बोलाउने र स्थायी कमिटीमा विचाराधीन एजेण्डाहरु केन्द्रीय कमिटीमा लैजाने निश्कर्ष निकालेको सहभागी एक नेताले अनलाइनखबरलाई बताए । ‘अब भोलि बस्ने स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्छ’ ती नेताले भने, ‘स्थायी कमिटीको बैठकमा प्रस्तुत भएका एजेण्डामाथि अब केन्द्रीय कमिटीमै छलफल हुन्छ ।’

स्थायी कमिटीको बैठकले कोरोना रोकथामसम्बन्धी सरकारले गरेका कामको समीक्षा सरकारको मूल्यांकन, पार्टी कामहरुको समीक्षा, एमसीसी सम्झौता, नागरिकता विधेयक, सीमा समस्या आदि एजेण्डाहरु तय गरेको थियो ।

सीमा समस्याबारे एक दिन छलफल भए पनि अरु एजेण्डामा अहिलेसम्म छलफलै हुन नसकी स्थायी कमिटी बैठक लगभग असफल बनेको छ ।

स्थायी कमिटीको बैठक चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तेजक अभिव्यक्तिका कारण बैठक भाँडिएको हो । प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन खोजेको र पार्टीकै नेताहरु त्यस खेलमा लागेको अभिव्यक्ति दिएपछि स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

त्यसयता बैठक रोकेर ओली र प्रचण्डवीच पटक(पटक छलफल भयो । तर, आजसम्म सहमति जुट्न सकेन । बरु यसवीचमा भगवान रामको जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति दिएर प्रधानमन्त्री ओली थप विवादमा तानिए ।

दिनभरिको सघन छलफल

स्थायी कमिटी बैठकको अघिल्लो दिन विहीबार बिहानैदेखि समस्याको निकास खोज्नका लागि नेताहरुको दौडधूप बाक्लो बनेको थियो । बिहानै प्रचण्डनिवास खुमलटारमा गृहमन्त्री रामहादुर थापा समेत सचिवालयका ९ मध्ये ६ जना नेताहरुले छलफल गरेका थिए । सो छलफलमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको सहभागिता थियो ।

खुमलटारबाट प्रचण्ड र माधव नेपाल दिउँसो प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । छलफलमा केहीबेर महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि उपस्थित थिए । पौडेल र शर्मा बाहिरिएपछि तीन नेताले छलफल गरेका थिए । पछि माधव नेपाल बाहिरिएपछि प्रचण्ड र ओलीवीच केहीबेर एक्लाएक्लै कुरा भएको थियो ।

ओली र प्रचण्ड आ(आफ्नै अडानमा रहेपछि कुनै सहमति जुटेन । तर, शुक्रबारको बैठक स्थगन नगर्ने भन्दै प्रचण्ड बालुवाटारबाट बाहिरिए ।

साँझ खुमलटारमा प्रचण्ड(माधव पक्षका नेताहरुको भेला भयो । सो भेलाले प्रधानमन्त्री ओलीले अडान नछाडेका कारण अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेको स्रोतले बतायो ।

उता प्रचण्ड बालुवाटारबाट बाहिरिएपछि बालुवाटारमा पनि सुवास नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतका ओली पक्षका नेताहरुले भावी रणनीतिबारे छलफल गरेको बालुवाटार स्रोतले अनलाइनखबरलाई
बतायो ।

‘गोप्य कोठाको सहमति मानिन्न’

यसैवीच स्थायी कमिटीको बैठक माग गर्ने २० जना नेतामध्ये १७ जना बुधबार सिंहदरबार परिसरमा बेग्लै छलफलमा जुटेका थिए । उनीहरुले दुईजना नेतावीच गोप्य कोठामा हुने सहमति नमान्ने भन्दै जे सहमति गर्नुपर्ने हो, स्थायी कमिटीको बैठकमै गर्नुपर्ने निचोड निकालेका थिए ।

साथै, शुक्रबार बस्ने स्थायी कमिटी बैठकले कोरोना रोकथाम एवं बाढी पीडितलाई राहत लगायतका विषयमा सरकारलाई निर्देशन दिनुपर्ने नश्किर्ष पनि सिंहदरबारमा भेला भएका दोस्रो तहका नेताहरुले निचोड निकालेका थिए ।

उता, अध्यक्ष ओली र प्रचण्डवीचको विवाद मिलाउन महासचिव विष्णु पौडेलले पनि यो साता निकै दौडधूप र प्रयासहरु गरे । तर, उनले आफू थाकिसकेको बताउन थालेको स्रोत बताउँछ ।

टिप्पणी : अब के होला ?

नेकपाभित्र कचल्टिएको विवाद समाधान हुनुको साटो झनै सघन बन्दै जान थालेको विहीबारको घटनाक्रमले देखाएको
छ । यसवीचमा असार १० यता ओली पक्ष र प्रचण्ड–माधव पक्षले आ–आफ्नो पोजिसन राम्रैसँग लिएको देखिन्छ ।

आफूलाई प्रधानमन्त्रीबाट हटाउने हो भने संकटकाल लगाउने, पार्टी विभाजन गरेर एमाले ब्युँताउने वा राजनीतिक निर्णय गरेर देशलाई मध्यावधि चुनावतर्फ धकेल्ने प्रयास केपी ओलीले गर्न सक्ने प्रचण्ड(माधव पक्षले विश्लेषण गरेको
थियो ।

तर, यसवीचमा प्रधानमन्त्री ओली आफ्नै समूहभित्रबाट पनि आलोचित बनेपछि उनले पार्टी विभाजनको कदम चाल्न नसकेको निश्कर्ष अन्य नेताहरुले निकालेका छन् । यसवीचमा प्रधानमन्त्री ओलीले युवा संघका कार्यकर्तालाई सडकमा उतारिसकेका थिए । तर, प्रधानमन्त्रीको समर्थनमा सडकमा निस्किएको जुलुस पनि अहिले सेलाइसकेको छ ।

आफूसँग बहुमत रहेता पनि स्थायी कमिटीबाट प्रचण्ड(माधव समूहले केपी ओलीलाई पदमुक्त गर्ने निर्णय अहिलेसम्म नगरेका कारण दुबै पक्षवीच अहिलेसम्म युद्धविरामको जस्तो अवस्था देखिएको छ ।

यो परिस्थितिमा अब दुबै पक्ष आ(आफ्नो अडानमा रहे पनि दुईतिरैबाट कुनै ‘स्ेटप’ अगाडि बढिहाल्ने अवस्था देखिँदैन । बरु यसका लागि केन्द्रीय कमिटी बैठक बोलाइयो भने स्थायी कमिटीको बहस त्यहाँ सर्न सक्छ र आगामी असोजभित्र कुनै निकास निस्कन सक्ने देखिन्छ । र, त्यसबेलासम्म नेकपाभित्रको तनाव नटरे पनि सर्न चाहिँ सक्छ ।

समाचार अनलाइन खबरबाट