तत्काल सरकार र पार्टीमा यातायात व्यवसायीको मागका बारेमा छलफल गर्छु

अध्यक्ष प्रचण्ड

१ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिएका छन् । उनले राहत व्यवस्थाका लागि पार्टी र सरकारमा छलफल गर्ने पनि बताए ।

यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि गठित कार्यदलको प्रतिवेदन आज बिहान बिहीबार खुमलटारस्थित निवासमा बुझ्दै प्रचण्डले सो कुरा बताएका हुन् । व्यवसायीहरुसँगको भेटमा प्रचण्डले भने, ‘व्यवसायीले राखेका सबै कुराहरु गम्भीर छन् । कोभिड–१९ का सन्दर्भमा संसारभरिका देशहरुले राहत प्याकेज दिने गरेको देखिएको
छ । यहाँ पनि यातायात व्यवसायी र मजदुरका समस्या समाधान गर्न केही न केही राहत वा सुविधाका बारेमा पार्टी र सरकारमा छलफल गर्छु । बरु नीतिगत कुरा अलिक पछि गर्दा पनि हुन्छ ।’

प्रचण्डले तत्काल बैंकको किस्तालाई रोक्ने कुरा, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जाका कुरा, राहत र अनुदानसँग सम्बन्धित कुरा र स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा सरकारले तुरुन्तै गरिदिनु पर्नेसमेत बताएको उनको सचिवालयले जनाएको छ ।

भेटमा व्यवसायीहरुले कोभिड–१९ पश्चात यातायात सञ्चालनमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएका थिए । व्यवसायी तथा मजदुर नेताहरुले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेका छन् ।

यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्न भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, नेपाल यातायात मजदुर संघका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ ।