३१ असार, काठमाडौं । सरकारले सवारी साधन खरिदमा यो आर्थिक वर्षभर छुट्याएको रकम भन्दा ४०६.७८ प्रतिशत बढी रकम खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा सवारी साधन खरिदमा लक्ष्यको तुलनामा ठूलो रकम खर्च गरेको उल्लेख गरेको छ ।
प्रतिवेदन अनुसार सरकारले उक्त आवमा १ अर्ब ४४ करोड २६ लाख रुपैयाँ सवारी साधन खरिदमा खर्च गर्ने लक्ष्य राखेको थियो । तर, एक वर्षमा ५ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ सवारी साधनमा खर्च भएको छ ।
यो विनियोजन लक्ष्यको तुलनामा ४०६.७८ प्रतिशत हो । यसरी सरकारले कुल बजेट खर्चको ०.५३ प्रतिशत रकम गाडी किन्न मात्र खर्च गरेको देखिएको छ । सरकारले यस वर्ष सार्वजनिक निर्माण, सामाजिक सेवा अनुदानजस्ता उपलब्धीमूलक कार्यक्रममा भने लक्ष्यको तुलनामा निकै कम खर्च गरेको छ । सेवा सुविधाका सन्दर्भमा भने मनग्य खर्च गरेको प्रतिवेदनले औंल्याएको छ ।
सुविधा र पारिश्रमिकमा खर्च हुन्छ ९ प्रतिशत बजेट
कुल सरकारी खर्चको ९ प्रतिशत बजेट सरकारी निकायको सुविधा र पारिश्रमिकमा मात्र खर्च हुने गरेको देखिएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷७६ मा सरकारले पारिश्रमिक र सुविधामा मात्र ९९ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ । यो कुल बजेट खर्चको ९ प्रतिशत हो ।
यस वर्ष पारिश्रमिकमा सरकारले १ खर्ब १७ अर्ब विनियोजन गरेको थियो । सेवा निवृत्त भएका सरकारी कर्मचारीको सुविधामा मात्र एक वर्षमा ६७ अर्ब ७१ करोड रुपैयाँ खर्च हुने गरेको छ । सामाजिक सुरक्षाका कार्यक्रममा एक वर्षमा ४५ अर्ब ३८ लाख रुपैयाँ खर्च हुने गरेको महालेखाले उल्लेख गरेको छ ।