प्रधानमन्त्रीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर रहेको कनै सत्यता छैन

सूर्य थापा

३१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको खबरमा कुनै सत्यता नरहेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

प्रम ओलीको प्रेस सल्लाहकारको फेसबुक पेजमा प्रेस नोट लेख्दै थापाले ’ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरूले छापेको समाचारमा कुनै सत्यता नरहेको बताएका हुन्।

पोस्टमा ’ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको उल्लेख छ।

’स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेका’ स्पष्ट गर्दछु’, उक्त पोस्टमा भनिएको छ, ’जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकप रवैया खेदजनक छ।’

’राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट नै छ’, थापाको पोस्टमा उल्लेख छ।

यसैगरी थापाले आम नेपालीहरूलाई दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गरेका छन्।

सो पोस्टमा सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग गरिएको छ।