दाउन्नेमा पहिरो खस्दा कार र ट्रक च्यापिए

३० असार, नवलपरासी । नवलपरासी–बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

मन्दिर नजिकैको घिउखोलामा मंगलबार बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नम्बरको कार र ना६ख १५५९ नम्बरको ट्रक च्यापिएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

सुरक्षा निकाय र सडकको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको खाँणको भनाइ छ। पहिरोका कारण सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।