म सही छु कि गलत छु भन्ने कुरा भोलि प्रमाणित होला

नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह बीचको विवाद साम्य भएको छैन । सामाजिक सन्जालबाट सुरु भएको आरोप–प्रत्यारोपसँगै दर्शकहरु पनि उनीहरुको पक्ष र विपक्षमा विभाजित भएका छन् ।

साम्राज्ञीले आफूले चलचित्रमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको भन्दै इन्स्टाग्राममा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा भुवन केसीले जवाफ दिएपछि विवाद चर्केको थियो । साम्राज्ञीले जापानको एक अवार्डमा आफूसँग गाला जोडेर बोल्न खोजेको, अंकमाल गरेको थप आरोप भुवनमाथि लगाइन् । यसपछि, भुवनले आफ्नो प्रतिष्ठामा आँच पुर्याउने काम गरेको खण्डमा कानुनको सहारा लिने बताए ।

साम्राज्ञीले लगाएका आरोप सम्बन्धमा अनलाइनखबरका विजय आवाजले नायक केसीसँग गरेको कुराकानी :

करिअरमा तपाईंले धेरै विवादको सामना गर्नुभयो, तर अहिलेको विवादले चाहिँ तपाईंलाई बढी आक्रोशित बनाएको हो ?

मेरो जिन्दगीमा कसैले पनि नलगाएको आरोप अहिले लगाइयो । मैले यो क्षेत्रमा निकै राम्रो गरोस् भनेर डेब्यू गराएको बच्चा जस्तो व्यक्तिले आरोप लगाउँदा दुःख लागेको छ । उनले उच्चारण गरेको शब्दले म स्तब्ध भएको छु । चलचित्र क्षेत्रमा ४० वर्ष बिताउँदै गर्दा यो क्षेत्रका लागि मैले योगदान दिएँ होला या दिइनँ होला । तर, जुन शब्द मलाई उहाँले प्रयोग गर्नुभएको छ, मैले चलचित्र क्षेत्रमा बिताएको ४० वर्ष यसैका लागि हो त ?

तपाईंमाथि उठेको विवादले भोलि अनमोललाई पनि असर गर्छ कि भन्ने चिन्ता छ ?

पक्कै पनि । मेरो रोमान्स गर्ने उमेरमा त यस्तो आरोप मलाई कसैले लगाएको थिएन । यो समयमा मेरो छोराको नायिकाले कुन मनस्थितिमा बोल्यो या कसैले उक्साएर बोल्यो मलाई थाहा छैन । मैले चलचित्र क्षेत्रमा नभित्र्याए पनि जुनियरले सिनियर कलाकारलाई सम्मान त गर्नुपर्छ नि होइन र ?

तर, तपाईंमाथि लागेको आरोप कत्ति पनि सत्य होइन भनेरचाहिँ कसरी विश्वास गर्ने ?

कुनै पनि चलचित्रको छायांकन कुनै बन्द कोठा वा जंगलभित्र हुँदैन । उहाँले जुन आरोप लगाइरहनुभएको छ, त्यो टिमभित्रको कुरा हो । यसमा म मात्र छैन । कुनै टिममा छायांकनका क्रममा केही भयो भने सबैलाई थाहा भैहाल्छ । उहाँले लगाएका आरोपहरुको विषयमा छायांकनको क्रममा कहिले पनि चर्चा भएन । अहिले यो आधारहीन कुरा गरेर के फाइदा छ ?

तर, तपाईंले जापानमा पुगेर पनि साम्राज्ञीमाथि दुर्व्यवहार गर्नुभएको भनिएको छ नि ?

जापानमा त साम्राज्ञीसँग मेरो मन दुखेको थियो । गाला जोडेर कुरा गर्ने त परकै कुरा भयो । जापान जानुभन्दा एक वर्ष अगाडि उहाँले नामै लिएर छायांकनका क्रममा अनमोलले जुस पायो, मैले पाइनँ, जस्ता प्रश्न उठाउनुभएको थियो । खानाको जिम्मामा त प्रोडक्सन कन्ट्रोलर गणेश सापकोटासँगै उहाँको मामा रवि बस्नेत पनि हुनुहुन्थ्यो । पोखरा छायांकनसम्म उहाँको मामा पनि निर्माता हुनुहुन्थ्यो । उहाँकै मामाको कारण हाम्रो छायांकन रोकियो र होटलमा ताल्चा पनि लागेको
थियो ।

छायांकनको समयमा कुनै असन्तुष्टि भएको भए हामीलाई भनेको भए भैहाल्थ्यो नी । छायांकनको क्रममा कहिलेकाहीँ धेरै हिँड्नु पर्यो होला, समयमा खाना खान पाइएन होला । यो कुरा हामीलाई सानो लागे पनि उहाँलाई ठूलो लाग्यो होला । उहाँले यी कुराहरु मिडियामा भनेपछि मैले भेटेँ भने कुरा गर्छु भनेर सोचेको थिएँ ।

जापानमा अवार्डका लागि जाने क्रममा होटलको लबीमा हामी २०–२५ जना बसेका थियौं । लबीमा उहाँलाई भेटेपछि मैले मेरो मन दुखेको छ भनेर भनेको थिएँ । यत्रो वर्ष यो कुरा नभनेर अहिले आएर किन भन्यौ भनेर मैले सोध्दा, उनले मेरो त्यो बेलामा के मुड भएको थियो भनेर जवाफ दिइन् । हाम्रो समस्याको हल त त्यहीँ नै भएको थियो ।

तपाईंले ‘जुन थालमा खायो त्यही थालमा‘’ भन्ने स्टाटस लेख्नुभयो ? त्यो लेख्न आवश्यक थियो त ?

जापानमा नै हाम्रो कुरा मिलिसकेको थियो, फेरि उहाँले बोल्नुभयो । तीन जनाको नाम नलिए पनि उहाँले मेरो पहिलो चलचित्र, नायिका, निर्देशक भएको चलचित्र, कोरियोग्राफर निर्देशक भएको चलचित्र भनेर भन्दा कसले बुझ्दैन होला ? यी कुराहरुले मलाई दुःख लागेपछि मैले स्टाटस लेखेँ ।

मलाई अहिले पनि उहाँको माया लाग्छ । मैले यो शब्द एउटा शिक्षकको हिसाबले भनेको हुँ । विद्यार्थीले भनेको नमानेपछि शिक्षकले उसको कान निमोठ्छ र गल्ती नगर्न भन्छ । मैले यही सोचेर लेखेँ । तर, उहाँले त्यसको बदलामा गलत शब्द प्रयोग गर्नुभयो ।

शिक्षक भएको नाताले यो कुरालाई फोनको माध्यमबाट समाधान गर्न सकिदैनथ्यो ?

जापानमा गएर मैले समाधान गरेको थिएँ । मैले त पहिले पनि जवाफ दिन सक्थेँ नि । एक पटक गाली गर्दा सहिन्छ, तर बारम्बार गाली गर्दा सहन गाह्रो हुन्छ । ६–६ महिनामा उहाँको मुड के चल्छ खै ।

नाम भनेको छैन भन्दै कहिले मलाई, कहिले झरना थापालाई, कहिले रेनशा वान्तवा राईलाई गाली गर्नुहुन्छ । झरना र रेनशाको योगदान चलचित्र क्षेत्रमा कति छ भन्ने उहाँले बुझ्नुभएको छैन । मैले कहिल्यै नीर शाहलाई गाली गरेको छु ? कहिल्यै हरिवंशलाई गाली गरेको छु ?

साम्राज्ञीले छायांकनका क्रममा विभेद भएको महसुस गरेरै यो कुरा भन्नुभएको होला ? तपाईंले पनि सच्चिनुपर्ने केही ठाउँ छ कि ?

मैले थाहा नपाएर मन दुखाएको रैछु भने तत्काल भनेको भए, म माफी माग्न तयार थिएँ । तर, अब उहाँले ६ वर्षपछि आएर भन्दा उहाँको सोच के हो भनेर कसले बुझ्न सक्छ ? उहाँलाई १७ वर्षको हुँदा नबोल भन्ने मानिसहरुले अहिले पनि नबोल नै भनेका होलान् नि त । राम्रो कुरा जहिले पनि उही नै हुन्छ नि ।

साम्राज्ञीले ३ वटा ब्यानरको नाम लिनुभएको छ, अरु टिमले कुनै प्रतिक्रिया दिनुभएन । भुवन केसीले मात्र किन दिनु परेको थियो ?

उसले मलाई जे भने पनि मन दुखेको मात्र हो मेरो । व्यक्तिगत त के नराम्रो छ र ? उसले बोलेको शब्द र मेरो क्यारेक्टरलाई वर्णन गर्न खोजेर बजारमा ल्याउन खोजेको छ, यसले गर्दा भोलिको दिनमा कुनै पनि मेकरले नायिका लिएर कसरी चलचित्र बनाउने ? यो चलचित्र क्षेत्रका सबैलाई महसुस भयो होला ।

चलचित्र क्षेत्र भनेको ग्ल्यामर क्षेत्र हो । एउटा निर्देशकले कलाकारलाई हरेक दृश्य सिकाउनुपर्छ । अब, कोरियोग्राफर कविराज गहतराजले अंगालो मारी–मारी कति जना नायिकालाई डान्स सिकाउनुभयो होला । अब, ६ वर्षपछि आएर कविराजलाई कुनै नायिकाले मलाई गलत तरिकाले समात्यो भनेर आरोप लगायो भने के हुन्छ । कसरी चलचित्र बनाउने ? यस्तो कुरा महसुस भएको भए त तत्काल प्रतिकार गर्नुपर्छ नि । उहाँ बच्चा होइन, पढेलेखेको युवती हो ।

तपाईंको यो केसले अब चलचित्र बनाउन गाह्रो हुन्छ भन्ने लाग्छ ?

अब हेर्नुहोस् है, नायिका रेखा थापाले नयाँ–नयाँ नायकलाई ब्रेक दिनुहुन्छ । एउटा स्टार हिरोले रेखामाथि नै आरोप लगाइदियो भने, उहाँले नयाँ नायकलाई कसरी ब्रेक दिन सक्नु हुन्छ ? हामीले त घरबार सबै दाउमा राखेर चलचित्र बनाएका हुन्छौं । यहाँ सिकेर आएको, पर्फेक्ट कलाकार को छ भन्या ? कपुरी क, खरायो ख सिकाएर कलाकारलाई स्टार बनाएका छौं । उसले काम गर्दा थोरै मात्र बिगारिदियो भने त हामी सडकमा आउँछौ । म सबै मानिस असल छन् भन्न सक्दिनँ । तर, मानिसको नियत खराब र सही थाहा हुन्छ नि । प्रतिकार तत्काल गर्नपर्छ नि ।

साम्राज्ञीजीबाट छायांकनको समयमा कतिको सहयोग पाउनुभएको थियो ?

उसले हाम्रो टिमको नाम नलिई धेरै आरोप लगाएको छ । हाम्रो टिमले कहिले पनि उसलाई कुनै आरोप लगाएको छैन । तर, उसले हामीलाई छायांकनका क्रममा दिएको दुःख त कति छ कति ? उसको कारण हाम्रो चलचित्रको १५–२० लाख नोक्सान भएको छ । म कुनै दिन भनौला । उसको कारणले हामीले धेरै दुःख पाएका छौं ।

अब एउटा अभिभावकको नाताले भनिदिनुहोस् कि, यसको समाधान के त ?

पहिलो कुरा त, म यो घटना किन भयो होला भन्ने सोचिरहेको छु । म सही छु कि गलत छु भन्ने कुरा भोलि प्रमाणित होला । हाम्रो चलचित्र क्षेत्रमा हिट र फ्लप मात्र छ । जब–जब मानिसले केही राम्रो काम गर्छ, त्यसलाई माया गर्ने, आस्था मान्ने पनि त्यत्तिकै हुन्छन् । त्यसलाई गिराउनका लागि पनि एउटा वर्ग लागेको हुन्छ ।

सुपर काजोल फिल्म्सले चलचित्र त राम्रो बनाउँछ भन्ने छ । फेरि अहिले अनमोल थपिएको छ । धेरै राम्रो चलचित्र नखेले पनि अनमोलले कोसिस त गरिरहेको छ । दर्शकले अनमोलबाट आशा पनि राख्नुभएको छ । मेरो नामलाई ड्यामेज गरेपछि उसको सफलतामा असर पर्छ भनेर कुनै तत्व लागेको हो कि भन्ने मलाई लाग्छ । मेरो काँधमा बन्दुक राखेर अनमोलमाथि प्रहार हो कि भन्ने लाग्छ ।

जिन्दगीको सबैभन्दा ठूलो चोट मलाई लागेको छ । जो मान्छेलाई म नेपालको मात्र होइन, संसारकै टप भएको हेर्न चाहन्छु, उसैले यस्तो आरोप लगाउँदा दुःख लाग्दैन होला र ? अझै पनि म उसले किन यस्तो कुरा गर्यो होला भनेर पत्ता लगाउने कोसिस गर्दैछु ।

अनलाइन खबरबाट