अझै पनि कालापानीमा नेपालीहरुको पहुँच छैन , टेक्न र देख्न पनि पाउँदैनन्

३० असार, काठमाडौं । नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन । सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न÷देख्न पाउँदैनन् ।

दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) बाट कालापानी हिँडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १.२ किलोमिटर वरैबाट फर्किएको
छ । सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको टोली करिब ६ घण्टा हिँडेर मल्लो (माथिल्लो) कौवाभन्दा केही माथिको क्षेत्रसम्म पुगेको हो। भारतले बनाएको नक्कली काली मन्दिरभन्दा १.२ किलोमिटरयता भारतीय फौजसँग उनीहरूको भेट भएको थियो। भारतीय पक्षले ‘निषेधित क्षेत्र’ भन्ने जानकारी दिए । र, नेपाली टोली त्यहींबाटै फर्कियो ।

‘हामी तल्लो कौवा, माथिल्लो कौवा हुँदै कालापानी क्षेत्रनजिक पुगेका थियौं’, एक सुरक्षाकर्मीले भने, ‘भारतीय सुरक्षाकर्मीले निषेधित क्षेत्र भनेपछि अगाडि जान चाहेनौं ।’ छाङरुबाट कालापानी १४ किलोमिटर दूरीमा पर्छ ।

उक्त घटनाले कालापानी, लिपुलेक, गुन्जी, नाभी, कुटी, लिम्पियाधुरा अझै हाम्रो पहुँचमा नरहेको देखाएको छ । छाङरुमा गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर अब्जरभेसन पोस्ट बीओपी स्थापना गरिएको थियो। त्यसपछि निरन्तर सीमा क्षेत्रमा गस्ती, पेट्रोलिङलाई तीव्रता दिइएको सशस्त्र प्रहरीले जनाएको छ । मल्लो कौवा, तल्लो कौवा, टिंकरलगायत क्षेत्रमा सशस्त्र प्रहरीले गस्ती गरिरहेको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्ले र सुन्दरसिंह धामीले लेखेका छन् ।