ललितपुरको लुभुमा एकै घरका १० जनामा कोरोना संक्रमण

२८ असार, ललितपुर । काठमाण्डौ उपत्यकामा कोरोना भाइरसका संक्रमित थपिने क्रममा आज ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो ।

ल्याब टेक्निसियन नर्सले आफूमा सङ्क्रण देखिनु अघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए । यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए ।

सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिएका छन् ।

मेयर श्रेष्ठका अनुसार, “यसका अलवा वडा नं ६ सिद्धिपुरका तीन, वडा नं १ र वडा नं ४ इमाडोलका एक÷एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका
छन् ।