रुमुम पश्चिममा पहिरोले एक घर पुरिदा २ को मत्यु

२६ असार, रुकुम । कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लाको आठबीसकोट नगरपालिका–३ रेझेखोलामा पहिरो जाँदा एक घर पुरिदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहान ६ बजेतिर गएको पहिरोले तुलबहादुर दमाईंको एक तले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा श्रीमती २८ वर्षीया सीता र छोरा छ वर्षीय हाविल रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । पहिराले घर पुरिँदा आठ वर्षीया छोरी हिरा घाइते भएको र उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक केसीको भनाइ छ ।

उनका अनुसार घाईतेको स्थानीय मेडिकलमा उपचार भैरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय आठबीसकोटबाट थप उद्धारका लागि प्रहरी निरीक्षक अच्युतराज आचार्यको कमाण्डमा २ जनाको टोली घटनास्थल तर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ रहेको छ ।