नेकपा अध्यक्षद्धयले विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ता अग्रसर

२६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन् ।

एक सातादेखि अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले ठोस निर्णय गर्न नसकेपछि दोस्रो पुस्ताका नेता तातेका हुन् । दोस्रो पुस्ताका नेताले प्रधानमन्त्री ओली र प्रचण्ड पक्षीय समूहलाई एकजुट बनाउने सूत्रको खोजी सुरु गरेका हुन् । बिहीबार कृषिमन्त्री घनश्याम भुसालहित ११ नेताले पार्टी नेतृत्व मिलाउने विषयमा छलफल गरे ।

सिंहदरबारमा भएको छलफलले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेको छ । दोस्रो पुस्ताको रणनीति नेतृत्वसम्म पुर्याउने र दबाब दिने तयारी नेताहरुको छ ।

दोस्रो पुस्ताका नेताले हस्ताक्षर, प्रदर्शन, धर्ना र सामाजिक सञ्जालमा गाली र तालीको अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार सिंहदरबारमा भएको छलपलमा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मणि थापा, जनार्दन शर्मा, वर्षमान पुनलगायत सहभागी थिए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।