ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित चार जना बिरामीलाई कोरोना पुष्टि

२५ असार, काठमाण्डौ । आज थपिएका १०८ जना कोरोना संक्रमित मध्यमा ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी एक गर्भवतीसहित चार जना बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् ।

संक्रमितहरूमध्ये धापाखेल निवासी २९ वर्षीय गर्भवती महिला छन् । अर्का ग्वार्को घर भएका ११ वर्षीय बालक छन् । उनी ज्वरो आएर आइसोलेसनमा भर्ना भएका थिए ।

यस्तै, ६५ वर्षीय पथ्थरीका समस्या भएका पुरूषमा पनि संक्रमण पुष्टि भएको छ । उनी सानागाउँ निवासी रहेको अस्पतालले जनाएको छ ।

अर्का संक्रमित भने ललितपुर ठेगाना भएकी ६६ वर्षीया महिला हुन् । उनलाई दमको समेत समस्या छ ।

अस्पतालले उनलाई सुरूमा आइसियूमा भर्ना गरेको र पछि स्वास्थ्यमा सुधार आए पनि आइसोलेसनमा सारिएको थियो ।