६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन

२५ असार, वीरगञ्ज । नारायणी अस्पतालले कोरोना भाइरसको सःशुल्क परीक्षण सुरु गरेको छ । आज एक सूचना जारी गर्दै अस्पतालले सःशुल्क पीसीआर परीक्षण गर्ने जानकारी गराएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा. मदन कुमार उपाध्यायद्वारा जारी सूचनामा प्रोटोकल भन्दा बाहिरका व्यक्तिहरुले आरटी पीसीआर गराउँदा ५ हजार ५ सय रुपैयाँ लाग्ने उल्लेख छ ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २४ गते नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन निर्देशन दिएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले प्रत्येक प्रदेशमा एउटा प्रयोगशालालाई मात्रै यस्तो अनुमति दिने निर्णय गरेको थियो । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ लुम्बिनी अस्पताल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशााला सुर्खेत र सुदूर पश्चिममा धनगढी अस्पताललाई सःशुल्क परीक्षणको अनुमति दिईएको छ ।

स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले निर्देशिका बाहेकका नमुना परीक्षणका लागि सम्पूर्ण परीक्षणको पच्चीस प्रतिशतमा नबढ्ने गरी शुल्क लिइने जानकारी दिए ।

यसअघि बागमती प्रदेशमा वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पतालले यस्तो सेवा दिँदै आएका थिए ।