अनसन तोडाउन १२ बुदे सहमति

२३ असार, काठमाण्डौ । कोरोना टेष्ट पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ ।

सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ ।

आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुनस्थापना गराउने लगायतका सहमति मन्त्रालय र अनसनकारीबीच भएको छ ।

यसैगरी विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार पार्ने सहमति भएको छ ।

सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, आरडीटी परीक्षण बन्द गर्ने लगायतका माग राख्दै दुई युवाहरु पाटनको डबलीमा अनसन बसेका थिए । उनीहरुको स्वास्थ्य विग्रिँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमै पुगेका थिए । बिभिन्न राजनीतिक दलका नेताहरुले पनि भेटेर उनीहरुका मागमा ऐक्यबद्धता जनाएका थिए ।