कोरोना कहरले दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिने अनुमान

२३ असार, काठमाण्डौ । संसार कोरोना भाइरससँग जुध्दै गर्दा व्यापार, लगानी र भूराजनीतिका अनेकौं टकराव पनि एकसाथ झेलिरहेको छ । यससँगै विश्वको आधाभन्दा धेरै जनसंख्या एकैपटक घरभित्र थुनिएर भर्खरै बाहिर निस्किन थालेको छ । जसको असर लामो समयसम्म पर्न सक्ने अन्तर्राष्ट्रिय ‘थिंक ट्यांक’को अनुमान छ ।

कोरोना महामारीका कारण संसारमा दशौं लाख मानिस गरिबीको रेखामुनि धकेलिनेछन् । यसले दिगो विकास लक्ष्य हासिल गर्न ठूलो बाधा पर्ने आकलन विश्व बैंकले गरेको छ । बैंकले एक महिनाअघि जारी गरेको प्रतिवेदनले विश्व अर्थतन्त्र ५.२ प्रतिशत खुम्चिने उल्लेख गरेको थियो । सोही प्रतिवेदनले खराब अवस्थामा विश्व अर्थतन्त्रको गिरावट ८ प्रतिशतसम्म पुग्न सक्ने आकलन गरेको छ ।

अमेरिकी कंग्रेसको नीति अनुसन्धान संस्था कंग्रेसनल रिसर्च सर्भिसले गत बिहीबार जारी गरेको प्रतिवेदनमा कोरोनाकै कारण विश्व अर्थतन्त्रले ९०० खर्ब अमेरिकी डलर गुमाएको उल्लेख छ । अर्थशास्त्रीले ९० वर्षअघि अमेरिकाबाट सुरु भएको विश्व महामन्दी (ग्रेट डिप्रेसन)यताकै खराब अवस्थामा अहिले विश्व अर्थतन्त्र गुज्रिहेको बताएका छन् ।

के यस घटनाले विश्व अर्थ व्यवस्था र व्यापार शृंखलामा ठूलो बदलाव ल्याउन सक्ला ? वा नयाँ आर्थिक शक्तिहरूको जन्म होला ? अर्थशास्त्रीहरू तत्कालै धेरै ठूलो परिवर्तन हुने त देख्दैनन् । तर, यो घटना विश्व आर्थिक शक्तिको समीकरण बदल्ने नयाँ खुड्किलोचाहिँ बन्न सक्ने बताउँछन् ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।