नेकपा स्थायी कमिटी बैठक बु्धबारसम्मका लागि स्थागित

२२ असार, कैलाली । सत्तारुढ नेकपा भित्र विवाद उत्पन्न भई फुटको संघारमा रहेको बेला जारी स्थायी कमिटी बैठक आज बस्ने भनिएको भए पनि पुन बुधबारसम्मका लागि स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न ओलीलाई दबाव दिएका छन् । तर प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडान लिएका छन् ।

शीर्ष नेताहरुबीच सहमतिको प्रयासमा बैठक र छलफल हुँदै आए पनि सहमति पुगेको छैन । सोमबार बिहान पनि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् ।

यसअघि भएका सहमतिका प्रयासमा खासै प्रगति नभएपछि नेकपा फुटको संघारमा पुगेको चर्चा चलेको छ ।