प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षा ‘थ्रेट’

२२ असार, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन्। ‘उहाँ (प्रधानमन्त्री) माथि थ्रेट देखेका छौं । उहाँका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौं’, सुरक्षा निकायका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आफूलाई पदबाट हटाउन देशीरविदेशी शक्ति हावी भएको बताएका थिए । त्यसको खण्डन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले अरू शक्ति नभई आफूले राजीनामा मागेको जवाफ दिएका थिए ।

सुरक्षा निकायले प्रधानमन्त्रीको सुरक्षा थ्रेट महसुस गरी योजना बनाइरहेका छन् । जसअनुसार प्रधानमन्त्रीलाई सकभर कुनै कार्यक्रममा नजान सुझाइएको छ । राष्ट्रपति कार्यालय जानुपर्ने अवस्थालाई ध्यान दिई सवारी रुट यकिन गरेर सुरक्षा योजना तय गरिएको छ ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुवास गोतामेले लेखेका छन् ।