अझै कुटाई खाने डर छ, लाठीको जवाफ लाठीमै दिनु ? न्याय खै ?

२१ असार, काठमाडौँ । चिकित्सकमाथि कुटपिटको भएको विरोधमा काठमाडौंको माइतीघर र बानेश्वरमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

झापाको मेडिका हस्पिटलमा कार्यरत डा. सुधाकर झामाथि कुटपिट गर्नेहरुमाथि कारबाहीको माग गर्दै चिकित्सकहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।

गएको असार ११ गते मेडिका हस्पिटलको इमर्जेन्सीमा कार्यरत डा. झामाथि बिरामी कुरुवाको १० जनाजतिको समूहले कुटपिट गरेको थियो ।

घटना भएको १० दिन बितिसक्दा पनि कुटपिटमा संलग्नमाथि कारबाही नभएकाले प्रदर्शनमा उत्रिएको आन्दोलनमा सहभागी चिकित्सकहरुले बताएका छन् ।

प्रदर्शनमा नेपाल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजका विद्यार्थी र काठमाडौंका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु सहभागी थिए ।

प्रदर्शनमा सहभागी चिकित्सकले बिरामी हेर्न मन छ, तर अझै कुटाई खाने डर छ, लाठीको जवाफ लाठीमै दिनु ? न्याय
खै ? जस्ता नारा लेखेको प्लेकार्ड बोकेर पदर्शन गरेका छन् ।