अब महिले तपाईहरु कुन कित्तामा भन्नु पर्ने भयो, आफै रोज्नुहोस्

प्रधानमन्त्री

२० असार, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरुद्ध षडयन्त्रहरू भइरहेको बताएका छन् । यस्तो बेलामा आफूले मन्त्रीहरूलाई तपाईंहरू कुन कित्तामा भनेर प्रश्न गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनीसमेत दिएका छन् ।

‘मेराविरुद्ध षड्यन्त्र भएको छ, मेराविरुद्ध र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाइवर्ड, बाइस्टेप नियन्त्रण गर्नुपर्ने हुन सक्छ’ प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग भने, ‘यस्तोबेलामा तपाईंहरू कता भनेर मैले सोध्नुपर्ने हुन सक्छ । तपाईंहरूले आफ्नो साइड रोज्नुपर्ने हुन सक्छ ।

राष्ट्रपतिविरुद्ध अविश्वास प्रस्ताव ल्याउने प्रयास भइरहेको हल्लाबाट प्रधानमन्त्री प्रभावित भएको हुन सक्ने एक मन्त्रीले आशंका गरे । उनका अनुसार त्यस्तो गलत सूचना प्रधानमन्त्रीलाई कसैले भरिदिएको हुन सक्ने उनको अभिव्यक्तिबाट झल्किन्थ्यो ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँग छलफल गर्नुपूर्व शीतल निवासमा राष्ट्रपतिलाई भेटेका थिए ।

मन्त्री पुन र भुसालको ‘अब्जेक्सन’

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्रहरु भइरहेको भन्दै मन्त्रीहरुलाई आ–आफ्नो कित्ता स्पष्ट पार्न चेतावनीयुक्त भाषा प्रयोग गरेपछि ऊर्जामन्त्री वर्षमान पुन प्रधानमन्त्रीलाई जवाफ दिन तम्सिए ।

स्रोतका अनुसार मन्त्री पुनले प्रधानमन्त्रीलाई भने, ‘यदि त्यस्तो हुन लाग्यो भने हामीसँग सिंगो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरुमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरु आउन सक्छन् र आशंका एवं समस्याहरुको समाधान हुन सक्छ ।

कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई दोस्रो विश्वयुद्धकालमा बेचिएका पोष्टरहरुको स्मरण गराउँदै गलत सूचनामा नबग्न आग्रह गरे ।

पहिलो विश्वयुद्धताका युरोपमा ‘‘..हत्यारा हुन्, तिनका विरुद्ध लडौं, तिनलाई काटौं’ इत्यादि लेखिएका पोष्टरहरु विक्री हुने गरेको बताउँदै मन्त्री भुसालले प्रधानमन्त्रीलाई भने, ती पोष्टरहरुमा ‘‘हत्यारा’ भन्दा अगाडि ‘फ्रेञ्चहरु’ ‘जर्मनहरु’ इत्यादि लेख्न सकिने गरी खाली राखिएको हुन्थ्यो । तपाईहरुका वीचमा यस्तै पोष्टर बेच्नेहरुले भयंकररुपमा सूचनाको दुरुपयोग गरेर हामीलाई बगाएका छन् र हामी बगेका छौं, प्रधानमन्त्रीज्यूले यसबारेमा सोच्नुहोला ।’

मन्त्री भुसालले अझ अगाडि बढेर प्रधानमन्त्रीलाई थपे, ‘ प्रधानमन्त्रीज्यू, तपाई शीर्षस्थ नेताहरु यस्ता गलत सूचनाले बहकिएका यथेष्ट प्रमाणहरु मसँग छन् ।’

पुन र भुसाल लगायत केही मन्त्रीहरुका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले ल अब आजको छलफल यति नै, भन्दै छलफल सकिएको जनाऊ दिएका थिए ।

प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई बालुवाटारमा बोलाएता पनि यसलाई मन्त्रिपरिषद बैठक नभएर अनौपचारिक छलफलको रुपमात्रै दिइएको थियो ।

प्रधानमन्त्रीलाई गलत सूचना !

सूत्रहरुका अनुसार प्रधानमन्त्री ओली शुक्रबार बालुवाटारमा आफू निकटका केही नेताअरुसँग छलफल गरिरहेका थिए । त्यहीबेला उनीसमक्ष खबर आइपुग्यो कि प्रचण्डनिवास खुमलटारमा राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे छलफल भइरहेको छ । र, प्रधानमन्त्री ओलीले यसैलाई संकेत गर्दै शनिबार मन्त्रीहरुलाई बोलाएर आफू र राष्ट्रपति दुबैविरुद्ध षडयन्त्र भएको दाबी गरेका हुन् ।

तर, प्रधानमन्त्री ओलीलाई खुमलटारमा भएको भनिएको छलफलबारे कसैले ‘फेक’ सूचना सुनाएर उत्तेजित बनाएको नेकपाको उच्च स्रोत बताउँछ ।

प्रधानमभन्त्री ओली सोही सूचनाबाट बहकिएर शनिबार राष्ट्रपतिलाई भेट्न पुगेको स्रोतले बतायो । केपी ओलीनिकटकै एक नेताले अनलाइनखबरसँग भने, ‘राष्ट्रपतिबारे खुमलटारमा जो नेताहरुले छलफल गरे भन्ने प्रधानमन्त्रीलाई सूचना दिइयो, ती नेताहरुसँग बुझ्दा यस्तो विषयमा कुनै छलफलै भएको रहेनछ ।’

यसैवीच सामाजिक सञ्जालमा पनि कतिपयले राष्ट्रपतिमाथि अविश्वासको प्रस्ताव ल्याउन लागिएको भन्ने चर्चा गरेका थिए । प्रधानमन्त्री ओली त्यस्तै सूचनाबाट बहकिएको नेकपा नेताहरु बताउँछन् ।

प्रधामन्त्रीले दिनभरि अत्याए !

शनिबार दिउँसो अकस्मात् प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएको खबरले नेकपाका नेता–कार्यकर्तामात्रै होइन, आम मानिसमा समेत दुईवटा प्रश्न उब्जिएः एकथरिले सोचे प्रधानमन्त्रीले राजीनामा दिन लागेका त होइनन् ? अर्काथरीले आशंका गरे, कतै पार्टी फुटाउने अध्यादेश जारी गर्ने वा संकटकाल नै घोषणा गर्न लागेका पो हुन् कि ?

प्रधानमन्त्री ओली शीतलनिवास प्रस्थानको खबरसँगै यस्तो आशंका बढ्नुका पछाडिको अर्को कारण के थियो भने ४ बजे पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग हुने तय भएको भेट स्थगित गर्नु र साँझ सात बजे सबै मन्त्रीहरुलाई बालवाटारमा हाजिर हुन भनिएको थियो । यसरी मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले ‘फेयरवेल’ पो गर्न लागेका हुन् कि भन्ने कतिपयलाई लागेको थियो ।

तर, कतिपयले चाहिँ केपी ओली त्यसरी सहजै राजीनामा दिनेखालका नेता नभएकाले राष्ट्रपतिसँग मिलेर कुै स्टेल चाल्न आँटेका पो हुन् कि भन्ने आशंका गरेका थिए । साँझ ८ बजेसम्म आइपुग्दा ‘खन्यो पहाड, निस्कियो मुसो’ भन्ने आहानजस्तै भयो । प्रधानमन्त्रीलाई आफ्नै मनको बाघले खाएर शीतलनिवास गएका रहेछन् । र, त्यसैका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाएका रहेछन् ।

अनलाइन खबरबाट