सत्ताका लागि भाँडभैलो गर्नु कम्युनिष्टहरूको वैज्ञानिक समाजवाद हो

वरिष्ठ नेता, रामचन्द्र पौडेल

२० असार, काठमाण्डौ । पछिल्लो चरणमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रका विवादतर्फ लक्षित गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरूको घर भत्किन्छ त्यसपछि आफ्नो घर बन्छ भन्ने सोच्न नहुने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अहिलेको अवस्थाबाट सुधार गरी मुलुकका समस्या समाधान गर्न सक्ने पार्टीका रूपमा अगाडि लैजानुपर्ने बताए ।

‘कांग्रेसले सत्ता प्राप्तिको राजनीति छाडेर सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ,’ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार बागमती प्रदेशका नेतारकार्यकर्तासँग गरेको अन्तरक्रियामा पौडेलले भने, ‘अरूको घर भत्किन्छ त्यसपछि आफ्नो घर बन्छ भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुन्छ ।

फागुनमा हुने पार्टीको १४ औं अधिवेशनबाट मुलुकलाई भिजन दिन सक्ने नेतृत्व आउने पनि पौडेलको भनाइ छ । देश बनाउने मिसनका लागि भिजन भएको पार्टी नेतृत्व आवश्यक रहेको उनले बताए ।

उनले कम्युनिष्टहरूले समस्या ल्याउने तर समाधान दिन नसक्ने बताए । ‘कम्युनिष्टहरू हल्ला मच्चाउँछन् तर समाधान दिन सक्दैनन्,’ उनले प्रश्न गरे, ‘मुलुकमा संकट परेका बेला भ्रष्टाचार र सत्ताका लागि भाँडभैलो गर्नु कम्युनिष्टहरूको वैज्ञानिक समाजवाद हो ?