अमेरिकाका ३७ राज्यमा कोरोना भाइरस फैलिएको

एजेन्सी

१९ असार, काठमाण्डौ । कोरोना महामारीको सर्वाधिक चपेटामा परेको अमेरिकाका ३७ राज्यमा कोरोना संक्रमितको संख्या बढेको रोयटर्सले जनाएको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार अमेरिकाले प्रतिदिन थपिने संक्रमित संख्यामा पनि नयाँ रेकर्ड कायम गरेको
छ ।

रोयटर्सका अनुसार देशभर एकैदिन ५१ हजार बढी संक्रमित फेला परेसँगै दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको हो ।
हिजो बिहीबार फ्लोरिडासहितका ९ अमेरिकी राज्यले संक्रमित संख्याले नयाँ रेकर्ड कायम गरेको जनाएका छन्। फ्लोरिडा राज्यमा मात्रै एकैदिन कीर्तिमानी १० हजार संक्रमित फेला परेका छन् ।

कोरोनाको अर्को इपिसेन्टर बनेको क्यालिफोर्नियामा यो वृद्धि ३७ प्रतिशत पुगेको छ भने त्यहाँ अस्पताल भर्ना हुने कोभिडका विरामी दुई सातामा ५६ प्रतिशतले बढेका छन् ।

बढ्दो संक्रमणलाई ध्यानमा राख्दै टेक्सस राज्यका गभर्नर ग्रेग अबोट बिहीबार २० भन्दा बढी संक्रमित भेटिएका राज्यका सबै काउन्टीमा अनिवार्य मास्कको प्रयोग गर्ने आदेश दिएका छन् ।

टेक्ससमा बिहीबार कोरोनाका करिब ८ हजार नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्ला १४ दिनमा ५० मध्ये ३७ अमेरिकी राज्यमा अघिल्लो दुई साताको दाँजोमा संक्रमित संख्या बढेको रोयटर्सको समाचारमा जनाइएको छ ।

अमेरिकामा हालसम्म कोरोनाका कारण १ लाख २८ हजार ७ सय ६ जनाको मृत्यु भइसकेको छ। यो संख्या विश्वमा कोरोनाका कारण भएको मृत्युको झण्डै एक चौथाई हो ।

पछिल्लो समय बढिरहेका संक्रमित संख्यालाई ध्यानमा राख्दै कयौं अमेरिकी गभर्नरहरूले लकडाउन खोल्ने योजनालाई स्थगित गरेका छन् ।

यसैगरी उनीहरूले सामुन्द्रिक किनार र अमेरिकी स्वतन्त्रता दिवसमा हुने जमघटमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।