आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैको छैन

प्रधानमन्त्री , केपी शर्मा ओली

१५ असार, काठमाडौं । हिजो मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले भारतको खेलमा नेपालका नेताहरु पनि मलाई प्रधानमन्त्रीबाट हटाउन लागि परहेको खुलासा गरेका छन् । आफूले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भित्री रुपमा यस्तो खेला भइरहेको पनि बताए ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुन्छ भन्न थालिएको छ बताए । ‘तपाईंहरूले पनि सुन्नु भएको होला, हप्ता १५ दिनमा प्रधानमन्त्री परिर्वतन हुँदैछ भनिँदैछ’ उनले भने, ‘भारतका मिडिया सुन्नु भएको होला, भारतका बौद्धिक बहसहरू सुन्नु भएको होला । कसरी भारतको राज्य संयन्त्र सक्रिय छ ।

अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै आफ्नो सरकार ढलेको उनले स्मरण गराएका थिए ।

नेपालले १४६ वर्ष उपभोग गरेको तर ५८ वर्षदेखि खोसिएको जमिन फिर्ता ल्याउन खोज्दा फेरि आफूलाई हटाउन खोजिएको उनले बताए ।

‘यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन’ उनले भने, अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भैराख्या छ ।

‘यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।

नेपालको नक्सा छापेरे कुनै गल्ती नगरेको भन्दै उनले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना पूरा नहुने बताए ।

म तपाईहरुलाई यत्ति भन्दिन्छु–नक्सा छापेवापत, संविधानमा नक्सा सामेल गरेवापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर
छैन । यो नसोचे पनि हुन्छ ।

आफ्नो पार्टी र संसदीय दल यस्तो बहकावमा नलाग्ने उनले बताए । अघि भने, ‘कोसिस गर्नेलाई त गर्न दिनू, तर हिजोको जस्तो होइन । कसैले हतारो नगरे पनि हुन्छ । र, कसैले विभिन्न आग्रहहरु नपाले पनि हुन्छ ।

प्रधानमन्त्री ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताए । तर यतिबेला आफू हटे भोलिबाट नेपालको पक्षमा बोल्ने आँट कसैले नगर्ने बताए । उनले भनेका छन्, ‘किनकि भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि । आफ्ना लागि होइन, देशका लागि ।