हावासरी ठाउँ फेरी रहेको छ सलह किराले

१५ असार, काठमाडौं । भारतबाट नेपाल पसेको सलह कीराले ठाउँ फेर्दै हिडेको सम्बन्धित विज्ञहरूले बताएका छन् ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार सुरूमा आएर बसेको अधिकांश ठाउँमा अहिले सलह देखिएको छैन । सर्लाहीको नवलपुरमा देखिएका कीरा ४ देखि ५ घन्टा बसेर अन्यत्र गएका छन् । भैरहवामा देखिएका कीरा बुटवल, पाल्पा र स्याङ्जा पुगेका छन् ।

त्यस्तै, सिन्धुलीमा गएको झुण्ड चियाबारी पुगेको छ भने पर्सामा देखिएको झुण्ड उडेर चितवनको राष्ट्रिय निकुञ्ज गएको छ । बारामा देखिएका कीरा मकवानपुर र काभ्रेतिर गएको पनि हुमागाईंले बताए ।

पूर्व बहिरहेको हावा उत्तर बहन थालेपछि सलह कीरा भारतको बिहारबाट शनिबार बिहान ७ देखि ८ बजेबीच नेपाल प्रवेश गरेको थियो । हावाको वेगले चिप्लिएर फाट्टफुट्ट धेरै जिल्ला पुगे पनि झुण्ड भने बारा, पर्सा, भैरहवा लगायत तराई हुँदै सिन्धुली, रामेछाप, बुटवल, पाल्पा लगायत पहाडी भेगमा सरेको उनले जानकारी दिएका छन् ।

नेपाल प्रवेश गरेको झुण्डको संख्या यकिन गर्न नसकेको प्राविधिकहरूले बताएका छन् । पानी परिरहेकाले सबै ठाउँ जान सकिएको छैन । त्यसैले संख्या भन्न सकिँदैन,’ हुमागाईंले भने, ‘सानो झुण्ड आएको प्राविधिकहरूले बताएका छन् । सलह भित्रिए पनि दैनिक पानी परेकाले बालीमा क्षति नगरेको उनले बताए ।