१ सय ६८ किलो तौल भएकी महिलाद्धारा शिशुको जन्म

१३ असार, काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा असार १० गते काठमाडौं कलंकी निवासी १ सय ६८ किलो तौल भएकी मेरिना हमालले शल्यक्रियामार्फत् २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन् ।

वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको हो ।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ ।

डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।

असाधारण तौल र शारीरिक बनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको डा. शर्माले बताइन् ।

सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत् प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरूको भनाइ छ ।

नेपालकै प्रसूति इतिहासमा १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको पहिलो रेकर्ड भएको होला ।