Breaking News

विश्वकप फुटबलको फाइनल खेल नेपाल टेलिभिजनको एनटिभी प्लस बाट निःशुल्क प्रसारण हुने

विश्वकप फुटबलको फाइनल खेल नेपाल टेलिभिजनको एनटिभी प्लस बाट निःशुल्क प्रसारण हुने भएको छ।

आज राति १२ः४५ बजे हुने अर्जेन्टिना र स्पेनबीचको फाइनल खेल एनटिभी प्लसबाट निःशुल्क प्रसारण गर्न लागेको सञ्चार तथा सूचना मन्त्रालयले बताएको छ ।

यस अघि तेस्रो स्थानका लागि भएको इंग्ल्यान्ड र फ्रान्सबीच भएको खेल एनटिभी प्लसमा प्रत्यक्ष प्रसारण भइसकेको छ।

यसअघि विश्वकपका खेलहरू हिमालयन स्पोर्ट्स र डिगो एपमार्फत शुल्क लिएर प्रत्यक्ष प्रसारण हुँदै आएका थिए ।

यस वर्ष विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारण गर्न एस्प्रो मिडियाले फिफाबाट अधिकार प्राप्त गरेको थियो। त्यसैअन्तर्गत टेलिभिजनतर्फ हिमालयन स्पोर्ट्स र ओटिटी र मोबाइल एपतर्फ डिगो एपलाई प्रसारण अधिकार दिने गरी सम्झौता गरिएको थियो।

हिमालयन स्पोर्ट्स च्यानल सब्स्क्राइब गर्न ९९९ रूपैयाँ र डिगो एपमा हेर्न मोबाइलबाट ५०० र डेस्कटपका लागि हजार रूपैयाँ तिर्नुपर्थ्यो।

फिफामा बिडिङ गरी प्रत्यक्ष प्रसारणको अधिकार प्राप्त गरेपछि नेपालभित्र क–कसले प्रसारण गर्ने भन्ने जिम्मेवारी त्यही मिडिया मातहत रहन्छ। प्रतियोगिता सुरू भएदेखि नै नेपाल टेलिभिजनमार्फत निःशुल्क देखाउनुपर्छ भन्ने माग पनि हुँदै आएको थियो। संसदमा समेत यसबारे कुरा उठ्यो। तर बिडिङ गरी प्रसारण अधिकार लिनुपर्ने भएकाले त्यो सम्भव थिएन।