भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ।
बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १४३० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
भूकम्पमा परि बेपत्ता हुनेको संख्या पनि बढेको छ।
आइतबारसम्म यो संख्या ६८ हजार ९०० पुगेको एपीले जनाएको छ। अझै बेपत्ताहरूको विवरण संकलन भइरहेको र यो संख्या बढ्न सक्ने बताइएको छ।
सबैभन्दा बढी प्रभावित ला गुआइराका विभिन्न क्षेत्रमा आफन्त र छिमेकीहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्।
उनीहरूले बेल्चा, डोरी, भारी उपकरण तथा नाङ्गो हातसमेत प्रयोग गरेर भत्किएका भवनहरूमा खोजी जारी राखेका छन्।
यसैबीच अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि घटनास्थल पुग्न थालेपछि पीडित परिवारमा केही आशा जागेको छ।
तर उद्धार तथा राहतमा सरकारको तयारी र सक्रियता कमजोर रहेको आरोप लगाउँदै स्थानीयवासीहरू आक्रोशित बनेका छन्।
सैनिक, प्रहरी, अग्निनियन्त्रक र सैन्य क्याडेटहरू विपत्तिको आकारअनुसार पर्याप्त रूपमा परिचालित हुन नसकेको भन्दै प्रभावितहरूले सरकारको आलोचना गरेका छन्।
भूकम्पपछि पहिलो ४८ देखि ७२ घण्टालाई जीवित उद्धारका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। यद्यपि खाना र पानीको पहुँच भए त्यो अवधि केही लम्बिन सक्ने मानवीय सहायता निकायहरूको भनाइ छ।
भेनेजुएलाका अधिकारीहरूका अनुसार शनिबारसम्म १७ वटा अन्तर्राष्ट्रिय उडानमार्फत १ हजार ६०० भन्दा बढी उद्धारकर्मी देश पुगेका छन्।
भूकम्प गएको ७२ घण्टा बितिसक्दा पनि भग्नावशेषभित्र जीवित मानिसहरू रहेको विश्वास गरिएका स्थानमा पर्याप्त उद्धार नभएको भन्दै स्थानीयहरू निराश बनेका छन्।
‘त्यहाँ हिजो रातिदेखिका शवहरू थुप्रिएका छन्, नवजात शिशुसमेत छन्। हिजो बेलुका ८ बजेसम्म तल मानिसहरू जीवित थिए, तर उनीहरूलाई उद्धार गर्न कसैले चासो दिएन। हामीले धेरै शव फेला पारेका छौं, ती निकाल्न पनि कसैले सहयोग गरेको छैन। आखिर उनीहरू के कुराको प्रतीक्षा गरिरहेका छन्?,’ समुद्री तटीय सहर काराबालेदाकी स्थानीयवासी माइलेइडी रोमेरोले एपीसँग भनेकी छन्।
कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत १४ हजारभन्दा बढी सैनिक र प्रहरी प्रभावित क्षेत्रमा परिचालन गरिएको दाबी गरेकी छन्।
उनका अनुसार अहिले प्रभावित क्षेत्रमा प्रवेश गर्न विशेष अनुमति आवश्यक पर्ने व्यवस्था गरिएको छ। तर स्थानीय बासिन्दाहरूले भने सरकारी उपस्थिति निकै न्यून रहेको बताएका छन्।
धुलोले ढाकिएका बस्तीहरूमा मानिसहरू भत्किएका भवनमाथि चढेर आफ्ना आफन्तको नाम पुकारिरहेका छन्।
अत्यधिक गर्मी र शव गन्हाउन थालेपछि धेरैले मास्क लगाएर उद्धारमा जुटेका छन्।
केही स्थानमा अस्थायी अस्पतालको पार्किङबाट शवहरू ट्रकमा राखेर पहिचानका लागि लगिएको दृश्य देखिएको छ।
उद्धारकर्मी र स्थानीयसँग सुरक्षाका आवश्यक सामग्रीसमेत पर्याप्त नभएकाले धेरैले मोटरसाइकलको हेल्मेट लगाएर भग्नावशेष पन्छाइरहेका छन्।

