१२ असार, तम्घास । प्रदेश ५ को गुल्मी जिल्लामा आज बिहान १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोट गाउंपालिकामा ५ जना, इस्मा गाउंपालिकामा ४ जना र रुरु क्षेत्र गाउंपालिकामा ३ जना गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिएका छन् ।
कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउंपालिकाका २९, ३६, ३५ र २३ वर्षका पुरुष तथा १९ वर्षकी महिला छन् । त्यस्तै इस्मा गाउंपालिकाका २०, ३४ र २६ वर्षका पुरुष तथा २२ वर्षकी महिला छन् ।
रुरु क्षेत्र गाउंपालिकामा ५ वर्षीय बालक तथा २८ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी आचार्यले बताए ।
१२ जना संक्रमित थपिएपछि गुल्मीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २५७ पुगेको छ । २० जना कोरोना संक्रमितहरु भने डिस्चार्ज भएर घर फर्किसकेका छन् । गुल्मी जिल्लामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।
यसैगरी १ हजार ४ सय ५६ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएकोमा ५५९ जनाको रिपोर्ट आउन बांकी छ ।