सङ्घीय संसद्को चालु अधिवेशन हिजोबाट अन्त्य गरिएको छ । मन्त्रीपरिषद्को चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुबै सदनको चालु अधिवेशन हिजो शुक्रबार राति १२ बजेबाट लागु हुने गरी अन्त्य गरेका हुन् ।
चालु अधिवेशन चैत १९ गते प्रारम्भ भएको थियो । निर्वाचनपछिको पहिलो अधिवेशनका रूपमा प्रतिनिधि सभामा छ वटा बैठक बसेका थिए । केही विधायिकीसहित व्यवस्थापकीय कामकारबाही पहिलो अधिवेशनमा भएका छन् । पहिलो अधिवेशन नौ दिन चालु रहेको थियो । कुल १० घण्टा ५० मिनेट संसदीय कामकाज भएको थियो । प्रतिनिधि सभाले अधिवेशनबाट नियमावली संशोधन मसौदा समिति गठन गरेको छ । यस्तै सभाका सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरेको छ । साथै प्रतिनिधि सभाले मतदाता नामावली, प्रतिनिधि सभा सदस्य निर्वाचन र नेपाल विशेष सेवासम्बन्धी तीन अध्यादेश स्वीकृत भएका छन् । अध्यादेश स्वीकृतसँगै प्रतिस्थापन विधेयकले ल्याउने प्रक्रियाका लागि बाटो खुलेको छ ।
यस्तै प्रतिनिधि सभामा राष्ट्रिय सभाबाट विभिन्न मितिमा पारित भई विचाराधीन रहेका नेपाल विधिविज्ञान प्रयोगशाला, चलचित्र र पर्यटन विधेयकको सन्देश टेबुल भएको छ । तीन विधेयकको बाँकी प्रक्रिया भने बाँकी छन् । यस्तै वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस भएको छ । यस्तै सङ्घीय संसद्को संयुक्त र प्रतिनिधि सभाका १० विषयगत समिति गठन भएका छन् । नियमावली संशोधनको प्रक्रियाले पूर्णता नपाउँदै समिति गठन गरिएको हो । यसअघि नियमावली तर्जुमापछि मात्र समिति गठनको अभ्यास थियो । यस्तै सङ्घीय संसद्का संयुक्त समितिमा रहने सदस्यको नामावली पनि प्रतिनिधि सभाले स्वीकृत गरेको छ । चालु अधिवेशनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेबा थिए ।

