Breaking News

पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । बढेको मूल्यसूची आजैदेखि लागू हुनेछ । पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाइएको हो ।

निगम सञ्चालक समितिको बैठकले प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ, डिजेल र मट्टितेलमा २५–२५ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरेको हो । यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौँ उपत्यका (तेस्रो वर्ग) मा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक) २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो ।

सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि निगमको घाटा न्यूनीकरण नभएपछि मूल्य बढाउनु परेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण सिर्जित विषम परिस्थितिलाई मनन गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन निगमले उपभोक्तासँग अनुरोध समेत गरेको छ ।