सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजबाट ६५ वर्षको उमेर हदका कारण अवकाश भएपछि सर्वोच्चकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।
वरिष्ठतम न्यायाधीश मल्लले स्वतः कामु प्रधानन्यायाधीशको भूमिका सम्हालेकी हुन्।
प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने संवैधानिक प्रावधान छ।
नेपालको संविधानको धारा १२९ को उपधारा (९) मा यस्तो प्रबन्ध छ।
सपना प्रधान मल्ल १७ साउन २०७३ मा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन्।
पहिलो संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रहेकी मल्लले सर्वोच्च अदालतमा करिब एक दशकको सेवा अवधिमा लैंगिक न्याय, लैंगिक तथा घरेलु हिंसा र संवैधानिक मुद्दाहरूमा नजिर स्थापित गरेकी छन्।

