Breaking News

अमेरिकी बहुसंख्यक नागरिकहरू इरानसँग युद्ध अन्त्य गर्नुपर्ने पक्षमा

अमेरिकामा गरिएको एक सर्वेक्षणले बहुसंख्यक नागरिकहरू इरानसँग जारी युद्ध छिट्टै अन्त्य गर्नुपर्ने पक्षमा रहेको देखाएको छ।

अमेरिकी सर्वेक्षण कम्पनी इप्सस र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले संयुक्त रूपमा गरेको सर्वेक्षणअनुसार दुई तिहाइ अमेरिकी नागरिकहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको उद्धेश्य पूरा भए पनि नभए पनि युद्ध अन्त्य हुनुपर्ने बताएका छन्।

२७ प्रतिशतले भने लक्ष्य पूरा नभएसम्म युद्ध जारी राख्नुपर्ने बताएको र ६ प्रतिशतले कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ।

सर्वेक्षणले सत्तारुढ रिपब्लिकन समर्थकहरूभित्र पनि मत विभाजन देखाएको छ।

ट्रम्प समर्थकहरूमध्ये ४० प्रतिशतले लक्ष्य अधुरो रहे पनि युद्ध अन्त्य गर्नुपर्ने बताएका छन् भने ५७ प्रतिशतले दीर्घकालीन संलग्नताको पक्ष लिएका छन्।

एक महिनादेखि जारी युद्धले मध्यपूर्व क्षेत्रभरि असर पार्दै हजारौंको ज्यान लिइसकेको छ भने विश्व अर्थतन्त्रमा पनि दबाब सिर्जना गरेको छ।

ऊर्जा मूल्यमा भएको तीव्र वृद्धिले मुद्रास्फीति बढ्ने चिन्ता थपिएको छ।

सर्वेक्षणमा सहभागीमध्ये ६० प्रतिशतले इरानमाथि अमेरिकाले गरेको सैन्य आक्रमणप्रति असहमति जनाएका छन् भने ३५ प्रतिशतले मात्रै समर्थन गरेका छन्।

युद्धको प्रभावस्वरूप अमेरिकामा पेट्रोलको मूल्य तीन वर्षयताकै उच्च स्तर पार गर्दै प्रतिग्यालन ४ डलर नाघेको छ।

सर्वेक्षणमा भाग लिएका दुई तिहाई व्यक्तिहरूले एक वर्षभित्र इन्धनको मूल्य अझै बढ्ने अनुमान गरेका छन्।  रिपब्लिकन मतदातामध्ये पनि ४० प्रतिशतले मूल्य वृद्धि हुने आकलन गरेका छन्।

सर्वेक्षणमा आधाभन्दा बढी सहभागीले युद्धले आफ्नो व्यक्तिगत आर्थिक अवस्थामाथि नकारात्मक प्रभाव पार्ने बताएका छन्, जसमा ३९ प्रतिशत रिपब्लिकन समर्थक पनि समावेश छन्।

यसले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि यो जनमतले ट्रम्प प्रशासनमाथि थप राजनीतिक दबाब सिर्जना गर्ने देखिएको छ।

सर्वेक्षणमा १ हजार २१ जनाले भाग लिएको रोयटर्सले जनाएको छ।

एजेन्सीको सहयोगमा