लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई राति धुम्बाराहीस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
२०८१ जेठ १४ गते बालुवाटारबाट काठमाडौं महानगरपालिकाले शर्माको घरबाट एक बालिकाको उद्धार गरेको थियो। शर्माले दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप थियो।
त्यतिबेला मेयर रहेका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न गरेका थिए।
सांसद शर्मामाथि उनले नाबालिकामाथि कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको राम्रो व्यवस्था नगरेको लगायतका आरोप लगाएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो।
महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो।
‘शारीरिक चोट पटक वा असर पुर्याउने, आतंकित पार्ने वा धम्क्याउने, तिरस्कार, उपेक्षा, भेदभाव, बहिष्कार वा घृणा गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने गरेमा बालबालिकाविरूद्ध हिंसा गरेको मानिने छ,’ उक्त दफामा भनिएको छ।
उक्त दफा अनुसार कसुर पुष्टि भए ५० हजार रूपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुने व्यवस्था छ।

