Breaking News

खोटाङमा ल्याण्ड गर्ने बेला हेलिकप्टर दुर्घटना आगलागी नहुँदा मानविय क्षति हुनबाट जोगियो

आज बिहान काठमाडौंबाट शव लिएर हेलिकप्टर खोटाङ उडेको थियो । हेलिकप्टरमा परिवारका ४ जना र एक जना पास्टर गरी ५ जना आएका थिए ।

बेलायती सेनामा रहेका खोटाङ केपिलासगढी २ का डाकमणि राईकी पत्नी मनलछी राईको शव शव वाहनमा राखेर डाकमणिसहित परिवारका अरू सदस्य काठमाडौंबाट एयर डाइनेस्टीको हेलिकप्टरमा खोटाङका लागि उडेका थिए ।

एयर डाइनेस्टीको नाइन एन एएफक्यु हेलिकप्टरमा मृतक मनलछीका पति डाकमणि, छोरा बालकुमार, छोरी लक्ष्मी, आफन्त समला राई र पास्टर काजीबहादुर राई सवार थिए।

पाइलट सविन थापासहित ६ जना सवार हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा पर्‍यो।

हेलिकप्टर अवतरणका लागि अंग्रेजी अक्षरको ‘एच’ लेखेर ठाउँ पनि ठीक पारिएको थियो। जसै पाइलट सविन थापाले अवतरण गराए, हेलिकप्टर निर्धारित ठाउँभन्दा केही परै थियो। अघि बढाउन खोज्दा अनियन्त्रित हुँदै भित्तामा बजारिँदै पल्टियो।

सोही हेलिकप्टर दुर्घटनाको भिडिओ अहिले सामाजिक सन्जालमा ‘भाइरल’ बनेको छ।

हेलिकप्टर दुर्घटनामा परेर ५० वर्षीय काजीबहादुर राई घाइते भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्तिमार्फत दिएको जानकारी अनुसार ‘हेलिकप्टर अवतरणको क्रममा असन्तुलन भई जमीनमा पल्टिएको’ उल्लेख गरेको छ।
दुर्घटनामा एक जना घाइते भए भने अरूको अवस्था सामान्य छ ।

दुर्घटना भएको हेलिकप्टरमा आगलागी हुन नपाउँदा ठूलो मानवीय क्षति टरेको छ ।