नेपाली कांग्रेसका सभापति गगन थापाले अब बन्ने कांग्रेसको सरकारले शक्तिशाली आयोग बनाएर हरेक काण्डको एक–एक छानबिन गर्ने अठोट गरेका छन्।
सभापति थापाले अबको कांग्रेस नेतृत्वको सरकारले आफू र निवर्तमान सभापति शेरबहादुर देउवाबाटै सम्पत्तिको छानबिन गर्ने घोषणा गरे।
‘नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ, त्यो शक्तिशाली आयोगले ०४६ सालपछि प्रधानमन्त्री हुनुभएको शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्छ, मन्त्री भएको गगन थापाको सम्पत्ति सबभन्दा पहिला छानबिन गर्छ,’ उनले भने, ‘आफ्नो बा भए पनि छोड्दैन, एउटा-एउटा कुराको छानबिन गर्छ।’
आफ्नै नाता वा नेता कसैको पनि छानबिनबाट पछाडि नहट्ने उनको अठोट छ।
सभापति थापाले कांग्रेसको सरकारले नयाँ कुनै काण्ड नगर्ने र अरूलाई पनि गर्न नदिने दाबी गर्दै त्यसका लागि कानूनी तथा संस्थागत व्यवस्था गर्ने जानकारी दिए।
उनले कांग्रेस विधिमा विश्वास गर्ने पार्टी भएकाले मनलाग्दी नगर्ने स्पष्ट पारे।
सभापति थापाले कांग्रेस बाहेक अरूले सबैलाई समेटेर लैजान सक्ने अवस्था नरहेको दाबी गर्दै पुराना वा नयाँ सबैलाई सम्हाल्न सक्ने क्षमता कांग्रेससँग मात्रै रहेको उल्लेख गरे।
उनले कांग्रेस अहिले धेरै सुध्रिएर आएकाले कांग्रेसलाई मत हाल्नु नपर्ने कारण केही नरहेको र कांग्रेसलाई मत हाल्नु पर्ने कारण धेरै रहेको बताए।

