Breaking News

पाकिस्तानले अफगानी तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा

पाकिस्तानले अफगानी तालिबानविरूद्ध ‘खुला युद्ध’ घोषणा गरेका छन्।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गरी इस्लामावादको धैर्यता समाप्त भएको भन्दै अफगानी तालिबान विरूद्ध खुला युद्ध घोषणा गरेका हुन्।

बिहीबार राति अफगानिस्तानले पाकिस्तानको सीमा क्षेत्रका ६ भन्दा बढी ठाउँमा हमला गरेको थियो। यसलाई तालिबान सरकारले गत आइतबार पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा गरेको हमलाको जबाफ भनेको छ।

गएराति अफगानिस्तानको हमलामा ५५ पाकिस्तानी सेना मारिएको र केही सैनिकलाई नियन्त्रणमा लिएको पनि तालिबानका सहायक प्रवक्ता हमदुल्लाह फिरातले बताएका छन्।

पाकिस्तानले शुक्रबार बिहानै अफगानिस्तानको काबुल, पक्तिका र कान्दाहारका विभिन्न क्षेत्रमा हवाई हमला गरेको पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पाकिस्तानका सूचना मन्त्री अत्तउल्लाह तरारल ती क्षेत्रमा तालिबानका रक्षा ठेगानाहरूलाई लक्ष्य गरेर कारबाही गरिएको बताएका छन्।

आक्रमणबाट तालिबानका दुई कोर मुख्यालय, दुई हतियार डिपो, एक लजिस्टिक्स गोदाम, तीन बटालियन मुख्यालय, दुई सेक्टर मुख्यालय र ८० भन्दा बढी ट्यांक नष्ट गरिएको उनको दाबी छ।

पाकिस्तानले आफ्ना सैन्य अपरेशनमा १३३ तालिबान सदस्य मारिएको र २०० घाइते भएको दाबी गरेको छ। यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन नसकेको बिबिसीले जनाएको छ।

अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले भने अफगानी अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी हमलामा ८ सैनिकको मृत्यु र ११ जना घाइते भएको भनेको छ। नांगरहारको शरणार्थी शिविरमा १३ जना नागरिक घाइते भएको पनि तालिबान सरकारको गृहमन्त्रालयलाई उद्धृत गरेर सिएनएनले लेखेको छ।

अफगानिस्तानको तालिबान सरकारका मुख्य प्रवक्ता जाबिउल्लाह मुजाहिदले पनि शुक्रबार बिहानै पाकिस्तानले काबुल, पक्तिका र कान्दाहारका केही स्थानमा बमबारी गरेको पुष्टि गरेका छन्।

शुक्रबार बिहानै काबुलमा शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो। राति करिब १:५० बजे लडाकु विमानको आवाजसँगै विस्फोट भएको र बिहान २:३० बजेसम्म केन्द्रीय काबुल क्षेत्रमा गोली चलेको आवाज सुनिएको बताइएको छ।

पछिल्लो समय पाकिस्तान र अफगानिस्तानबीच सीमापार झडप तीव्र बन्दै गएको छ।

गत अक्टोबर २०२५ मा युद्धविराममा सहमति भए पनि त्यसयता पटक–पटक तनाव बढ्दै आएको छ।

गत साता पाकिस्तानले अफगानिस्तानभित्र हवाई आक्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको तालिबानले जनाएको थियो।

पाकिस्तानले भने ती आक्रमण पाकिस्तान–अफगान सीमा नजिकका सात कथित मिलिटेन्ट क्याम्पलाई लक्षित गरिएको दाबी गरेको थियो।

दुवै पक्षले एक–अर्कामाथि पहिले आक्रमण गरेको आरोप लगाएका छन्।

एजेन्सी