नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले आज एक मन्तव्यको भिडियो सार्वजनिक गर्दै भनेका छन्,पुराना नेताहरु सबै एउटै नभएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री प्रचण्डले संसदीय खेलमा कुर्सीको तानातानले मुलुकलाई धेरै वर्ष पछाडि धकेलिएको आत्मस्वीकारोक्ति समेत गर्नुभएको छ । ‘हलिउडमा एउटा संवाद छ, कि नायकको रुपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित बनिराख’, उहाँले भन्नुभयो, ‘यदि म धेरै अघि बितेको भए इतिहासले सायद मलाई नायकको रुपमा मात्र हेथ्र्यो होला, तर म अब खलनायक पनि होइन, यो मुलुकलाई सही दिशामा नपुर्याएसम्म म विश्राम लिनेछैन।’
संयोजक प्रचण्डले पुराना नेताहरु सबै उस्तै नरहेको पनि स्पष्ट पार्नुभयो । ‘धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रस्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन’, उहाँले अघि भन्नुभयो, ‘म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ, म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु ।’
संयोजक प्रचण्डले डिजिटल युगमा बहकाउने मान्छे धेरै भेटिने बताउँदै नागरिकलाई सचेत समेत गराउनुभएको छ । अघि भन्नुभयो ‘याद राख्नुहोला, हरेक चम्किला चिज हिरा हुँदैन, आज म तपाईहरुसँग भोट माग्न आएको होइन, तपाईहरुलाई स्वतन्त्र भएर चिन्तन गर्न अपिल गर्न आएको हुँ।’

