Breaking News

तत्काल शैक्षिक सस्था खुल्दैनन् अब सक्रमण हेरेर लकडाउन हुने

८ असार, काठमाण्डौ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब सोलोडोलो तरिकाले लकडाउन नहुने बताएका छन् ।

सुरूवाती दिनहरूमा सबैतिर एउटै किसिमको लकडाउन गरिएको भए पनि अब संक्रमणको अवस्था हेरेर ठाउँअनुसार लकडाउन हुने पोखरेलले जानकारी दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सामान्य अवस्था नआउँदासम्म भीडभाड हुने ठाउँहरू बन्द रहने बताए ।

अब मोडालिटीअनुसार नै लकडाउन अगाडि बढ्छ । स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट सञ्चालन हुँदैनन् । सार्वजिनक सभा समारोह पनि गर्न पाइँदैन’, ’संक्रमण भएर सोचेभन्दा भयावह ढंगले आयो भने निश्चित क्षेत्रलाई पूर्ण रूपमा सिल गर्नुपर्छ । तर पहिलाजस्तो गरी सबैतिर बन्द हुँदैन ।

सरकारले लकडाउन खुकुलो पारेको भन्दा पनि लकडाउनको मोडालिटी परिवर्तन गरेको उनले बताए ।

जेठ २८ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको नयाँ मोडालिटी बनाएको थियो । त्यसपछि मानिसको आवतजावतलाई केही खुकुलो पारिएको छ भने दैनिक गतिविधि पनि बढेका छन् ।

गृह मन्त्रालयले ’लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड (२०७७’ समेत जारी गरिसकेको छ ।

सार्वजनिक यातायात, उद्योग व्यवसाय कसरी चलाउने र दैनिक अन्य गतिविधि कसरी गर्ने भन्ने सन्दर्भमा नयाँ मोडालिटी ल्याइएको उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

हिजोकै अवस्थामा भन्दा नयाँ ढंगले जोररबिजोर प्रणालीअनुसार सवारी साधन चलाउन भनिएको छ । अन्तर जिल्ला आवागमन हुन नदिने र प्रभावित भएका ठाउँ, पकेट सिल गरेर लैजाने भन्ने नीति लिइएको छ’, उनले भने,’निश्चित मापदण्डका आधारमा खोलिएको हो। त्यसैले अब नागरिक आफैंले पनि सजकता अपनाउनुपर्छ । आफ्ना गतिविधि गर्दा भौतिक दूरी कायम गर्नुपर्छ ।

महामारीबाट पनि बच्नु पर्ने र सँगै भोकमरीसँग पनि जुध्नुपर्ने भएकाले यसका लागि गतिविधि बढाउन मोडालिटी परिवर्तन गरिएको उनको भनाइ छ ।

सरकारले भने अनुसारको जोररबिजोर प्रणाली पालना गर्न उनले आग्रह गरेका छन् ।

मालवाहक गाडी नरोक्ने र उद्योग व्यवसाय पनि निश्चित प्रोटोकल पालना गरेर चलाउन भनिएको छ’, उनले भने,’कामदारलाई ल्याउने, राख्ने र लैजाने अनि सरसफाइमा ध्यान दिने कुरालाई ख्याल गर्नुपर्छ ।

कृषि उत्पादन ल्याउने लैजाने र औद्योगिक कामहरू पहिलादेखिनै भइरहेको उनले बताए ।

उपप्रधानमन्त्री, ईश्वर पोखरेल