काठमाडौँ । काठमाडौं महानगरपालिका पूर्व मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हिजो मेयर पदमा राजीनामा दिएर आज मधेश पुगेका छन् । रास्वपाले आज जनकपुरमा आयोजना गरेको राजनीतिक सभामा बोल्ने क्रममा भने, सङ्घीयता अझै बलियो बनाउने बताएका छन् ।
रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् । उनले भने, मधेसीको छोरा प्रधानमन्त्री बन्नेवाला भएर घन्टीमा भोट हाल्ने होइन, सही मान्छे आउनेवाला छन्, त्यही भएर घन्टीमा भोट हाल्नुस्। सही समय आउनेवाला छ, त्यही भएर घन्टीमा भोट हाल्नुस्। सही सरकार आउनेवाला छ, त्यही भएर घन्टीमा भोट हाल्नुस्।
आफ्नो पहिलो राजनीतिक सभामा मैथिली भाषामा भाषण गर्दै बालेनले काठमाडौंमा अधिकार माग्न होइन, घुम्न जाने गरी प्रदेशलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
मिटरव्याज पीडित र उखु किसानहरू आफ्नो माग लिएर काठमाडौं आउनुपरेको प्रसंग उल्लेख गर्दै बालेनले भने, मैले काठमाडौंको मेयरका रूपमा उनीहरूलाई केही गर्न सकिनँ।
स्थानीय स्तरका मुद्दा लिएर अधिकार माग्न काठमाडौं आउने प्रवृत्ति अन्त्यका लागि आफू राष्ट्रिय राजनीतिमा आएको बालेनले बताए।
बालेनले सीताको जन्मस्थल र राम(सीताको विवाह भएको पवित्र भूमि जनकपुरको पर्यटकीय सम्भावनामा पनि जोड दिए।
राम-सीताको विवाह भएको जनकपुरजस्तो ठाउँ छाडेर डेस्टिनेसन वेडिङु का लागि भारतको जयपुर र इन्डोनेसियाको बाली जाने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले भने, डेस्टिनेसन वेडिङका लागि जयपुर र बाली जाने होइन, राम-जानकीको विवाह भएको यो पवित्र भूमिलाई त्यसको गन्तव्य बनाउन सकिन्छ।
रामको जन्मभूमि अयोध्यामा वर्षको १० लाख पर्यटक जाने गरेको बताउँदै बालेनले भने, सीताको जन्मभूमि जनकपुरमा वर्षको १ करोड पर्यटक ल्याउने सम्भावना छ।
पहिलो राजनीतिक भाषण गरिरहेका बालेनले पछिल्लो चार वर्षमा आफू काठमाडौं महानगरको काममा व्यस्त भएकाले भाषण दिन नपाएको उल्लेख गरे।

