ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अबको मुख्य लक्ष्य सद्भाव, सुशासन र समुन्नति हुनुपर्नेमा जोड दिएका छन्। विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा सुरु भएको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीलाई फुटबाट जोगाएर अझ सशक्त बनाउने संकल्प व्यक्त गरे।
महामन्त्री शर्माले नेतृत्वको लोकप्रियता कायम राख्न ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) अनिवार्य सर्त भएको टिप्पणी गरे। उनले नेतृत्वले आफूले गरेका राम्रा कामको जस लिने मात्र नभई कमजोरीहरू सच्याउन पनि तयार हुनुपर्ने धारणा राखे। विशेष महाधिवेशन प्रतिनिधिहरू अनुशासित रहेको चर्चा गर्दै उनले यो भेलाले कुनै आवेगमा नभई विवेकपूर्ण निर्णय गरेर देश र पार्टीको हितमा काम गर्ने विश्वास दिलाए।
जेनजी आन्दोलनले उठाएका सुशासनका मागहरूलाई कांग्रेसले नै सम्बोधन गर्न सक्ने दाबी गर्दै शर्माले बदलिएको परिस्थिति अनुसार पार्टी पनि बदलिएर अघि बढ्नुपर्ने बताए। उनले गत भदौ २३ र २४ गतेका घटना र त्यसक्रममा गुमेका जीवनका बारेमा गम्भीर छानबिन हुनुपर्ने माग समेत गरे। सरकारमा बस्नेहरूले जनतामा विश्वास जगाउन नसकेकै कारण युवाहरूको आन्दोलन चर्किएको उनको विश्लेषण थियो।

