नागरिकता विधेयकमा काँग्रेसको नोट अफ डिसेन्ट लेख्ने

७ असार, सुर्खेत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैवाहिक अंगिकृत नागरिकताका विषयमा फरक मत राख्ने भएको
छ ।

आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयक पारित गर्ने गरी प्रस्ताव हुन आए ‘नोट अफ डिसेन्ट’ लेख्न कांग्रेसले समितिका सदस्य रहेका कांग्रेस सांसदलाई निर्देशन दिएका छन् ।

अहिले बसिरहेको सिंहदरबारमा समितिको बैठकमा नागरिकता विधेयकबारे छलफल हुँदैछ । एक वर्षदेखि समितिमा रोकिएको विधेयक संसदमा पठाउने गृहकार्य हुँदैछ ।

कांग्रेसले वैवाहिक अंगिकृत नागरिकताबारे पार्टीको आधिकारिक धारणा बनाउन आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक राखेको थियो ।

उक्त बैठकले अहिले चलिआएकै व्यवस्थालाई निरन्तरता दिइनुपर्ने निष्कर्ष निकालेको हो ।

‘नेकपाले भनेजस्तो सात वर्षपछि वैवाहिक अंगिकृत नागरिकता दिनु संवैधानिक, सांस्कृतिक, राजनीतिक मान्यताविपरीत हुन्छ,’ उपसभापति निधिले भने, ‘हाम्रो भनाइ अहिले चलिआएकै व्यवस्था (नागरिकता ऐन २०६३) लाई निरन्तरता दिनुपर्छ भन्ने हो ।

नेकपाले जे निर्णय गरेको छ, त्योअनुसार विधेयक पारित गर्न खोज्ने हो भने त्यसमा हामी असहमति जनाउँछौं,’ ‘सामाजिक, साँस्कृतिक, राजनीतिक र संवैधानिकविपरीत हुने भएकोले अस्वीकार गर्दै नोट अफ डिसेन्ट लेख्छौं ।

राज्य व्यवस्था समितिका सदस्य रहेका कांग्रेस सांसद अमरेशकुमार सिंहले पार्टीले गरेको निर्णयलाई बैठकमा राख्ने तयारी रहेको जानकारी दिएका छन् ।