Breaking News

बिच सडकमै गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच झगडा

९ पुस, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच गाडी प्रयोगको विषयलाई लिएर बीच सडकमा झगडा भएको छ ।

आज अध्यक्ष नोमनारायण माझीले प्रयोग गरेको गाडी उपाध्यक्ष गुणवतीदेवि थारुले नियन्त्रणमा लिएपछि दुई पक्षबीच बिराटनगरको सडकमै झगडा भएको हो ।

पार्टीको कार्यक्रमका लागि विराटनगर आएकी उपाध्यक्ष थारुले अध्यक्षले प्रयोग गर्ने गाडी देखेपछि चालकबाट चाबी खोसेकी थिइन् ।

सरकारी गाडी लिएर अध्यक्ष माझी जिल्ला प्रशासन कार्यालय पुगेका थिए । उपाध्यक्षले चाबी खोसेपछि अध्यक्ष रिसाए । विवाद बढ्दै जाँदा अध्यक्ष र एमाले कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको थियो । त्यसपछि स्थानीयले अध्यक्ष माझीलाई रोकेका थिए ।

यसअघि गत फागुनमा अध्यक्ष माझीले उपाध्यक्षसहित वडाध्यक्षको सवारी खोसेका थिए । गाडी खोसेपछि जनप्रतिनिधि आफ्नै सवारी प्रयोग गरिरहेका छन् ।
गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यकर्तालाई लिएर आएका कारण गाडी रोकिएको बताइन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार जिल्ला प्रशासन कार्यालय बाहिर दुई पक्षबीच विवाद भए पनि कार्यालयमा प्रवेश गरेनन् ।

‘उहाँहरूको झगडा भएको भिडियोमा देखियो तर कार्यालयमा छलफलका लागि आउनुभएन । गाउँपालिकामा नै छलफल गर्ने भन्दै जानु
भएछ ।

गत मंसिरमा भएको उपनिर्वाचनमा माझीले माओवादी केन्द्रबाट पालिकाका अध्यक्ष जितेका थिए । एमालेको बहुमत भएको पालिकामा अध्यक्ष माझी र उपाध्यक्षसहित एमालेका जनप्रतिनिधिबीच पटकपटक विवाद भइरहेको छ ।