Breaking News

अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै सबैभन्दा सहज र उत्तम विकल्प

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले देशेभरी गरेको पार्टी एकता तथा सन्देश कार्यक्रम अन्तर्गत आज उपत्यकास्तरीय सन्देश कार्यक्रम गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने क्रममा नेकपा (एमाले)ले बाहिर जेसुकै भने पनि भित्री रूपमा निर्वाचनकै तयारी गरिरहेको दाबी गरेका छन्।

एमालेले सार्वजनिक रूपमा अन्य कुरा गरे पनि उसको सबै ध्यान निर्वाचनतिरै केन्द्रित भइसकेको देखिन्छ। उनले एमालेलाई डबल स्ट्यान्डरु नदेखाउन र मुलुकको निकासका लागि घोषित निर्वाचन प्रक्रियामा इमानदार भएर सहभागी हुन आग्रह गरे ।

अध्यक्ष दाहालले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन नै सबैभन्दा सहज र उत्तम विकल्प भएको बताएका छन्। नेपाली कांग्रेसले संस्थागत रूपमै निर्वाचनमा जाने निर्णय गरिसकेको र आम जनता पनि चुनावी माहोलका लागि मानसिक रूपमा तयार भइरहेको उनको बुझाइ छ। कतिपय शक्तिहरू अदालतमा गए पनि अन्तिम निकास निर्वाचन नै भएको भन्दै उनले अब सिङ्गो राष्ट्रलाई चुनावी प्रक्रियामा लैजान सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए।

निर्वाचन अहिलेको राष्ट्रिय आवश्यकता बनिसकेकाले यसबाट कोही पनि पछि हट्न नहुने प्रचण्डको तर्क छ। उनले एमाले नेतृत्वलाई लक्षित गर्दै अनावश्यक अलमल नगरी चुनावी मैदानमा आउन चुनौती समेत दिएका छन्। आफ्नो पार्टी निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको सन्देश दिँदै उनले सबै कम्युनिस्ट शक्तिहरूलाई एकै ठाउँमा उभिएर जनताको सामना गर्न समेत आह्वान गरे।

अहिले घोषणा भइसकेको निर्वाचन नै सबभन्दा सहज विकल्प हो । जनता बिस्तारै निर्वाचनको लागि तयार भइराखेको छ । राजनीतिक दलहरू कोही कोर्टमा गए पनि मैले बुझेसम्म नेपाली काँग्रेसले संस्थागत निर्णय निर्वाचनमा जाने गरिसकेको छ । एमाले पार्टी बाहिर जेसुकै कुरा बोले पनि उनको भित्री तयारी निर्वाचनतिरै छ भन्ने देखिसकिएको छ । त्यसकारण डवल स्टयान्डरको कुरा नगरौँ, सिङ्गै राष्ट्रलाई निर्वाचन प्रक्रियातिर अगाडि बढाउन सबै एकजुट होऔँ । यही नै नेपालको अहिले राष्ट्रिय आवश्यकता बन्न गएको छ ।