एजेन्सी/राससने, पिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता अनि स्थानीय बासिन्दाले घटनाबारे पुस्टि गरेका हुन् ।
एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भिडभाड भएको चिया पसलमा लागेको थियो । ‘आक्रमणमा १८ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन्,’ ती अधिकारीले एएफपीसँग भने,’ ‘चिया पसलमा भिडभाड भएको समयमा आक्रमण भएकाले त्यहाँ धेरैको मृत्यु भयो ।’ एएफपीसँग सूचनाका लागि बोलेका सबै स्रोतहरूले आफ्नो सुरक्षाका लागि नाम नखुलाउन अनुरोध गरेका छन् ।
म्यान्मारमा सेनाप्रति बफादार जुन्टा सरकारका एक प्रवक्तासँग यस विषयमा कुरा गर्ने एएफपीको प्रयास सफल हुन नसकेको एएफपीका संवाददाताले जानकारी दिएका छन् ।
स्थानीय एक बासिन्दाले भने, ‘विनाशकारी भूकम्प गएपछि घोषणा गरिएको कथित युद्धविरामका बाबजुद मे महिनामा सागाइङमा भएको जुन्टाको हवाई हमलामा मारिएकाहरूको शनिबार अन्त्येष्टि गरिएको छ । यसमा केही पीडितहरूको अनुहार छेदविच्छेद् अवस्थामा देखिन्थ्यो । ‘मलाई धेरै दुःख लागेको छ, किनभने म तिनीहरूमध्ये केहीलाई राम्ररी चिन्थें,’ उनले भने ।
म्यानमारमा विनाशकारी भूकम्प गएपछि कथित युद्धविरामको घोषणा गरिए पनि मे महिनामा सागाइङमा भएको सैन्य शासकको हवाई हमलामा २० बालबालिकासहित २२ जनाको मृत्यु भएको थियो ।

