काठमाडौँ । सुरक्षण मुद्रण केन्द्र सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलोपटक छपाइ गरेको सवारीचालक अनुमतिपत्र लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ ।
क्यूआर कोडसहितको लाइसेन्सको परीक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङगानाले आज यातायात व्यवस्था विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाइसेन्स हस्तान्तरण गरीएको हो । पहिलो चरणमा केन्द्रले पाँच सय २० थान लाइसेन्स हस्तान्तरण गरेको छ । दोस्रो चरणको करिब एक हजार २०० आवेदकको तथ्याङ्क केन्द्रलाई प्राप्त भएको र छपाइ निरन्तर भइरहेको छ ।
कार्यकारी निर्देशक ढुङ्गानाले विभागले उपलब्ध गराएको तथ्याङ्कका आधारमा छपाइ तीव्रगतिमा हुने बताए । उनले छापिएका नयाँ लाइसेन्सको गुणस्तर परीक्षण गरेर विभागलाई उपलब्ध गराइएको बताउनुभयो । कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार पब्लिकमा लाइसेन्स पठाउन उपयुक्त छ वा छैन भन्ने विभिन्न मापदण्ड परीक्षण गरिएको छ । नेपालकै ल्याबमा गरेको परीक्षण सफल भएपछि विभागलाई बुझाइएको हो ।

