Breaking News

ईपीएस अन्तर्गतको भाषा परीक्षा आजदेखि औपचारिक रूपमा सुरु

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको भाषा परीक्षा आजदेखि औपचारिक रूपमा सुरु भएको छ । विहान साढे ९ बजेदेखि परीक्षा प्रारम्भ भएको जानकारी ईपीएस शाखाका सूचना अधिकारी राजकिशोर शाहले दिए ।

पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएका ६७ हजार आवेदक परीक्षा दिँदै छन् । सन् २०२५ मा ईपीएसमार्फत दक्षिण कोरिया जान कुल १ लाख २ हजार ५१५ जनाले आवेदन दिएका छन् ।

तीमध्ये उत्पादनतर्फका ६७ हजारलाई प्राथमिकतामा राखेर पहिलो चरणको परीक्षा सञ्चालन गरिएको हो। दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएका परीक्षार्थीहरूको परीक्षा हुने छ । उक्त क्षेत्रका लागि ३५ हजार जनाले आवेदन दिएका छन् ।

ईपीएस शाखाका अनुसार भाषा परीक्षा दुई महिनाभित्र सक्ने तयारी गरिएको छ । १७ ईपीएस सदस्य राष्ट्रहरूमध्ये दक्षिण कोरियाले नेपालबाट नै सबैभन्दा धेरै श्रमिक लैजाने गरेको छ ।