Breaking News

एमालेले प्रतिनिधि सभा पुनः स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय

नेकपा एमाले सचिवालयको ५९ औं बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  प्रतिनिधि सभा पुनः स्थापनाको मुद्दामा देशैभरीका पार्टी संगठनलाई दबाबका लागि जनपर्दशन गर्न आवहन गरेका छन् ।

शनिबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा झन्डै पाँच घन्टा चलेको बैठकमा अध्यक्ष ओलीले  प्रतिनिधि सभा पुनः स्थापना अब एमालेको मात्रै एजेन्डा नभएर काँग्रेसको पनि हुने बताए ।

एमालेको शनिबारको सचिवालय बैठकले प्रतिनिधि सभा पुनः स्थापनाका लागि जनपरिचालन गर्ने निर्णय गरेको छ। वडा तहदेखि पालिका हुँदै केन्द्र तहसम्म जनसभा राख्ने निर्णय गरेको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एमालेले आगामी कात्तिक २२ गते ६ हजार ७४३ वडामै भेला गर्ने निर्णय गरेको छ। कात्तिक २५ गते पालिका तहमा प्रदर्शन हुनेछन्। २९ गते जिल्ला जनसभाको आयोजना गर्ने र काठमाडौंमा मंसिर ६ गते जनसभा गर्ने निर्णय गरिरहेको छ।

यी सबैको उद्देश्य प्रतिनिधि सभा पुनः स्थापनाका लागि दबाब सिर्जना गर्नु रहेको उपमहासचिव ज्ञवालीले बताए।

प्रतिनिधि सभा पुनः स्थापनाको पक्षमा एमाले एक्लैजस्तो देखिएको छ। विघटित प्रतिनिधि सभाका धेरै दल विशेषतः माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावमा जाने निर्णय गरिसकेका छन्। नेपाली कांग्रेसभित्र पनि चुनावमै जानुपर्छ भन्ने मत बलियो बन्दै गइरहेको छ।