३ असार, काठमाडौं । कोरोना भाइरसले विश्व नै थलथलमा परेको बेला ब्राजिलमा एकैदिन कोरोना भाइरस संक्रमित ३५ हजार नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले हिजो मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ३४ हजार ९१८ नयाँ संक्रमित फेला परेका हुन् ।
ब्राजिलको लागि यो एकैदिनमा भेटिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो । यससँगै ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख २३ हजार १८९ पुगेको छ ।
त्यस्तै कोरोना भाइरसको कारण ब्राजिलमा मृत्यु हुनेको संख्या पनि ४५ हजार नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण ४५ हजार २४१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २८२ जनाको मृत्यु भएको हो ।
ब्राजिलमा लकडाउन खुकुलो बनाइएसँगै कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो ।
ब्राजिलका वरिष्ठ अधिकारीले ब्राजिलमा कोरोना भाइरस नियन्त्रणमा रहेको अभिव्यक्ति दिएकै दिन ब्राजिलमा कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।
स्रोत : सिन्ह्वा