ऐजेन्सी/ ताइपेई । शक्तिशाली समुद्री आँधी रागासाको कारण आएको मुसलधारे वर्षा र बाढीले ताइवानमा ठुलो क्षति पुर्याएको छ। यसले गर्दा त्यहाँको एक ताल फुटेर कम्तीमा १४ जनाको ज्यान गएको छ भने १२४ जना बेपत्ता भएका छन्।
रागासा सोमबारदेखि नै ताइवानलाई प्रभावित गर्दै दक्षिण चीनको तटीय क्षेत्रतर्फ अघि बढिरहेको छ। यसअघि भारी वर्षाले पहिरो गएपछि बनेको यो ताल मंगलबार दिउँसो फुटेको थियो।
रागासाको शक्तिशाली हावा र वर्षाका कारण हङकङ र दक्षिण चीनका केही भागमा पनि उच्च सतर्कता अपनाइएको छ। चिनियाँ अधिकारीहरूले कम्तीमा १० सहरमा विद्यालय र व्यवसायहरू बन्द गर्न बाध्य भएका छन्।
हङकङको एयरपोर्ट वेबसाइटका अनुसार, मंगलबार साँझ ६ बजेपछि कुनै पनि उडान भएको थिएन। क्याथे प्यासिफिकले यसअघि नै आफ्ना ५०० भन्दा बढी उडानहरू रद्द गर्ने बताएको थियो।
हङकङको मौसम सेवाका अनुसार, यो समुद्री आँधी आफ्नो केन्द्र नजिक १९५ किलोमिटर प्रतिघण्टाको अधिकतम हावाको गतिमा दक्षिण चीन सागर हुँदै पश्चिमतिर बढिरहेको छ। हङकङ अब्जर्भेटरीले बुधबार बिहान २:४० बजे सबैभन्दा उच्च चेतावनी -टी१० जारी गरेको थियो।
यसले समुद्री सतहमा ४ देखि ५ मिटरसम्म पानीको स्तर बढ्न सक्ने चेतावनी पनि दिएको छ। एएफपीका एक पत्रकारले हङकङको हेंग फा चुएन आवासीय क्षेत्रको समुद्री किनारमा करिब ५ मिटर अग्ला छालहरू देखेको बताएका छन्।
‘रागासा’, जसको अर्थ फिलिपिनो भाषामा ‘तीव्र गति’ हुन्छ, आगामी २४ घण्टाभित्र चीनको ग्वाङ्डोङ प्रान्तको मध्य र पश्चिमी तटीय क्षेत्रमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। चीनको दक्षिण-पूर्वी सहर शेन्जेनमा ४ लाख मानिसलाई खाली गर्न आदेश दिइएको छ। ग्वाङ्डोङ प्रान्तका अन्य सहरहरू जस्तै चाओझोउ, झुहाई, डोङगुआन र फोशानमा पनि यस्तै उपायहरू अपनाइएको छ।
वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर आँधीहरू अझ शक्तिशाली बन्दै गएको चेतावनी दिएका छन्।

