पर्वत । जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य बनाइएको हो । जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१–८२ मा जलजलामा एक सय ६२ जनाले संस्थागत प्रसूति सेवा लिएका बताए ।
एक सय ४६ जनाले बेनी, बागलुङ, कुश्मा, पोखरालगायत ठाउँमा पुगेर प्रसूति सेवा लिएका शाखा प्रमुख मल्लले बताए। गत आवको सुरुदेखि नै सञ्चालन गरेको गर्भवतीलगायतलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेपछि घरमा जोखिम मोलेर असुरक्षित रूपमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झार्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।
गत वर्ष गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा नसर्ने रोग स्क्रिनिङ कार्यक्रममार्फत एक हजार ५०० जनाले सेवा पाएका छन् । प्रत्येक महिना स्वास्थ्यकर्मीले विद्यालयमा पुगेर स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । मल्लाजमा १० शय्या क्षमताको अस्पताल भवन निर्माण सकिएको र नाग्लीवाङ स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको छ । बाह्र वटा स्वास्थ्य संस्थामा विद्युतीय प्रणालीबाट स्वास्थ्य सेवाको अभिलेख राख्न थालिएको छ ।
एक वर्षमा छ सय ३१ जनाले एम्बुलेन्स सेवा पाएका छन् । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असहाय गरिब र अपाङ्गता भएकाहरूका लागि स्वास्थ्य संस्था आवतजावत निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । स्वास्थ्य शिविरमार्फत पाँच हजार ज्येष्ठ नागरिकले सेवा पाएका
छन् । जलजलामा तीन हजार ३२८ परिवारका १० हजार ३०४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
रातोपाटीबाट

