बैतडी । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् ।
ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । आज अमुक्ताभरण सप्तमी भएकाले ब्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन रही आएको उनले बताए ।
‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा पनि गर्ने
गर्दछन् । ब्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ ।

