Breaking News

अमेरिका–भारत सम्बन्धमा दुई वर्षभित्रै व्यापक फेरबदल

२२ साउन, काठमाडौं । अमेरिका–भारत सम्बन्धमा दुई वर्षभित्रै व्यापक फेरबदल आएको छ । यसलाई विश्व राजनीतिमा चासोका साथ हेरिएको छ । दुई वर्ष अगाडि मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाले ह्वाइट हाउसमा भव्य स्वागत गरेको थियो । अमेरिकी संसदमा उनको भाषणमा तालीका पर्रा छुटेका थिए ।

तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले मोदीको खुलेर प्रशंसा गरेका थिए । यस पछाडि दुई रणनीतिक उद्देश्य थिए । पहिलो, अमेरिका चाहन्थ्यो कि भारतले युक्रेनमा रुसको आक्रमणसम्बन्धी मामिलामा स्पष्ट धारणा प्रस्तुत गरोस् । दोस्रो, भारतलाई यस्तो गठबन्धनमा सहभागी गराउने चाहना थियो जसले चीनको बढ्दो प्रभावको सामना गर्न सकोस् ।

त्यो क्षणले विश्व लगातार विभाजित हुँदै गएको परिस्थितिमा भारत अमेरिकाको एक भरोसायोग्य साझेदार भएको संकेत दिएको थियो ।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिका र भारतबीच तनाव बढ्ने स्पष्ट संकेत देखिएको छ । किनकी ट्रम्पले भारतबाट आयात हुने वस्तुमा भन्सार शुल्क (ट्यारिफ) बढाउँदै ५० प्रतिशत पुर्‍याएका छन् । भारतले पनि अमेरिकाको यो निर्णयको कडा शब्दमा आलोचना गर्दै उपयुक्त जवाफ दिने बताएको छ ।

कतिपय कूटनीतिज्ञहरू यो व्यापार युद्धले अल्पकालीन रूपमा भारतलाई नोक्सान पुर्‍याउन सक्ने अनुमान गर्छन् । यससँगै अमेरिकाले भने एक नजिकको र महत्वपूर्ण साझेदार गुमाउन सक्ने सम्भावना देखिएको छ । भारत त्यस्तो साझेदार हो जो चीनविरुद्ध अमेरिकाका लागि उपयोगी हुन सक्थ्यो ।

ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी निर्णय भारतका लागि ठूलो झट्का हो । भारतीय निर्यात संगठन (एफआईईओ) ले यसलाई ‘अत्यन्तै चकित पार्ने’ निर्णय भनेको छ । संगठनले भनेको छ- यस निर्णयले अमेरिकामा भारतबाट हुने कुल निर्यातको आधाभन्दा बढी प्रभावित हुनेछ ।

भारत र चीनका सेनाबीच गलवान सीमा क्षेत्रमा भएको झडपपछि पहिलोपटक मोदीले गर्न लागेको चीन भ्रमणलाई चासोका साथ हेरिएको छ ।
दिल्लीस्थित थिंक ट्यांक ‘ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ’ (जीटीआरआई) को अनुमानमा अमेरिकातर्फ भारतको निर्यात ४० देखि ५० प्रतिशतसम्म घट्न सक्छ ।